विदेशमा रहेका नेपालीको पीडा बुझिदिनुस्: विवेकशील नेपाली

बिएल संवाददाता

काठमाडाै‌ं

विवेकशील नेपाली दलले कोरोनाको कहरबीच विदेशमा रहेका नेपालीबारे सरकारको प्रभावकारी गतिविधि नदेखिएको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ध्यानाकर्षण गराएको छ। 

विवेकशीलका अध्यक्ष मिलन पाण्डे, सूचना तथा सञ्चार विभाग प्रमुख आलोक सुबेदी, संघीय समिति सदस्य आशिष राई र प्रवास प्रदेशका सचिव जीवन कार्कीसहितको टोलीले ध्यानाकर्षण गराएका हुन्। 

विवेकशीलका अध्यक्ष पाण्डेले भेटमा सरकारको काम गराई निकै ‘स्लो’ भएको र सरकार जति गम्भीर हुन पर्ने हो त्यति नभएको भन्दै चिन्ता व्यक्त गरे। 

उनले अहिले समस्या परेका नेपालीहरुलाई उद्दार र राहतको व्यवस्था गर्न माग गरेका छन्। त्यस्तै उनीहरुले निकट भविष्यमा फर्किँदै गरेका नेपालीहरुलाई योजनावद्ध हिसाबबाट व्यवस्थापन गर्न योजना बनाउन सुझाव दिए।

 उनले विदेशमा रहेका नेपालीको अभिभावकत्व ग्रहण गर्न अपिलसमेत गरे। 

सरकारलाई आफूहरूले ‘वर्क फर नेपाल’ को डाटा, आफ्नो विदेशमा रहेको संगठन र विवेकशील नेपालीसँग भएको स्रोत साधन दिएर सहयोग गर्न तयार रहेको कुरा समेत बताए।

जवाफमा, परराष्ट्रमन्त्रीज्ञवालीले आफूहरूले काम गरिरहेको जानकारी दिँदै अहिले परिस्थिति त्यति सहज नभएको बताए। ‘सरकारले योजना बनाएर काम गरिरहेको छ। हामी दूतावास मार्फत थप सक्रिय भएर काम गर्नेछौं’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने।
 

प्रकाशित मिति: : 2020-05-08 22:32:58

प्रतिकृया दिनुहोस्