रातको १० बजेको छ । सिङ्गै राजधानीबासी मस्त निद्रामा छन् तर काठमाडौंकै सिनामङ्गलमा भने बत्तीको उज्यालोमा पुल बनाउन भिडेका छन्– केही भारतीय मजदुर।
डेढ महिनादेखि लकडाउनमा बन्छ छ देश । काठमाडौंबासीलाई सक्रियताका हिसाबले दिन र रातमा खासै अन्तर हुन छाडेको छ । धेरैजसोले घर नछाडेको ४६ दिन भइसक्यो। लकडाउनको बन्दाबन्दीबीच बिजुलीको उजालोमा बागमती किनारमा काम धमाधम चलिरहेको छ । निर्माणमा जुटेका छन्, श्रमिक ।
टाउकोमा फेटा र मुखमा मास्क बाँधेर पुल बनाउन खटिरहेका मान्छे सडकबाटै देखिन्छन् । पुरानो पुल भत्किएको थियो । त्यही ठाउँमा नयाँ पुल निर्माणको धमाधम छ । निर्माणको गति तीव्र छ ।
बनिरहेको पुलछेउको जस्तापाताले छाएको छाप्रो छ । दुई जना भारतीय युवक शरीरमा धुलो टक्टक्याउँदै भित्र पस्छन । दुवै जना मुस्लिम समुदायका भारतीय रहेछन् । केही महिनाअघि काम खोज्दै नेपाल आइपुगेका रहेछन्, दुवै ।
कलकत्ताका वारिस तुल्ला र बिहारका सागिर हुसेन । यी दुवैजना विगत सात महिनादेखि यहीँ काम गर्दै छन् । २१ वर्षीय तुल्लाको यही बैशाखमा बिहे तय भएको रहेछ । लकडाउनले त्यो पनि स्थगित भएको छ । लकडाउनले घर जानै पाएनन् ।
झुस्स दाह्री, टाउको फेटा र मास्क छोपेको छ मुख । उनी जस्ताको छानामुनि टोलाइरहेका छन् । ‘नसिब नै खोटो रहेछ, के गर्ने ?’साथीलाई दुखेसो पोख्छन् ।
कुरो सुन्दै जाँदा खुल्यो– बिहेका लागि कोलकातास्थित गाउँमा उनको परिवारले कन्या छिनिसकेको रहेछ तर अब त ती कन्यासँग बिहे हुन्छ कि हँुदैन, ठेगान छैन । बिहेका लागि गहना र श्रृङ्गारको खर्च जोहो गरिसकेका रहेछन् । संसारै हल्लाउने गरी आएको कोरोना महाव्याधिले उनीजस्ता ज्याला कमाएर गुजारा गर्नेलाई सबैभन्दा बढी प्रभावित गरेको बुझेका उनी चित्त बुझाउँछन् । ‘भाग्यमा जे छ, त्यही होला’, उनी लामो सास फेर्छन् ।
खोजेको केटीसँग बिहे नभएकोमा दुःखी त छन् तर नदेखेकी ती कन्याको उनलाई याद आउने कुरै भएन । संसार महामारीमा डुबेको थाहा पाएका उनी भारत पनि महामारीको चपेटामा परेको सुनेका छन् । त्योसँगै उनलाई आमाको यादले सताइरहेको छ । ‘यस्तो बेलामा घर सम्झिदा आमाको याद सबभन्दा बढी आउँदो रहेछ’ उनले भने, ‘दैनिक फोन र भिडियो कलबाट कुरा हुन्छ । आमा मलाई सम्झाउँदै रुन्छिन् । म पनि चित्त बुझाउने प्रयास गर्छु । आमासँग कुरा गर्दा त रुन्नँ तर फोन राखेपछि भने एक्लै रुने गर्छु ।’
कोलकातामै सात कक्षासम्म पढेका छन् उनले । गरिबीले गर्दा पढाइ त्यहीँ रोकिएको रहेछ । मिठो खाने र राम्रो लाउने आशामा काम खोज्दै हिँडे । भारतका बिभिन्न शहर गएर ज्यालादारीमा मजदुरी गरे । त्यहाँभन्दा राम्रो जिन्दगी हुने आशमा आफू काठमाडौं आइपुगेको उनले बताए ।
यो पीडा उनको मात्र होइन, उनीसँगै बागमतीको किनारमा मध्यरातमा काम गरिरहेको भेटिएका अर्का भारतीय कामदार सागिर हुसेन, २० को पनि हो । हुसेन बिहारको एक गाउँबाट नेपालसम्म आएर रहरले मजदुरी गरिरहेका छैनन् । पारिवारको आर्थिकस्थिति दयनीय भएकै कारण नेपाल आएर पसिना बगइरहेका हुन् ।
गाउँका साथीभाइलाई खुब ‘मिस’ गरेको बताउने उनलाई पनि आमाको न्यास्रोले निकै सताएको छ । ‘गाउँमा पढ्न पाइएन । गरिबीमै हुर्किएँ’, उनले भने, ‘यस्तो महामारीका बेला पनि बुबा–आमासँग टाढा बस्नुपर्दा मन खिन्न हुन्छ ।’
गाउँको परिवेश राम्रै थियो । दुई–चार पैसा कमाएर बूढा भएका बाबुआमालाई खुशी राख्ने सपना देखेर गाउँ र देश छाडेको उनले सुनाए । ‘आखिर सोचेजस्तो कहाँ हुदोरहेछ र ! घरमा रहेका बा–आमा आफ्नोभन्दा मेरो चिन्ताले तनावमा छन्’, उनले भने, ‘के गर्ने, साथी–भाइ गाउँमै आ–आफ्ना बाबुआमासँग दुःखसुख बसेका छन् । मलाई भने परदेशमा यो मध्य रातमा पनि नाक थुनेर काम गर्नुपरेको छ ।’
हुसेनले लकडाउन छिटो सकिएमा गाउँ गएर आमाबाबुसँग धित मर्ने गरी बस्न मन भएको उनले बताए । ‘नेपालमा ज्याला गरेर कमाएको पैसाले आमा–बुबालाई एकसरो लुगा लग्दिनुपर्ला । केही दिन गाउँमा परिवार र साथीभाइसग रमाउने अनि फेरि काममै फर्किने हो’, उनले भने ।
दिवा निर्माण सेवा प्रा.लि.ले बनाइरहेको पुलमा इञ्जिनीयर रूपेन्द्र श्रेष्ठ भारतीय कामदारहरुसँगै मध्यरातमा खटिरहेका छन् । उनी कामदारलाई प्राविधिक कुरा सिकाउँदैछन् । इन्जिनियर श्रेष्ठले भने, ‘रातिको समयमा खट्दा गाह्रो त हुने नै भयो । त्योभन्दा पनि कोरोना संक्रमणको डरले समूहमा काम गर्नु जोखिमपूर्ण छ ।’
श्रेष्ठले होशियारी अपनाएरै काम गराइरहेको बताए । उनले भने, ‘बर्खा लाग्नुभन्दा अगाडि ढलानको काम सकियो भने आगामी पुससम्ममा पुल निर्माणको काम सम्पन्न हुन्छ ।’
निर्माणाधीन पुल ७० मिटर लामो छ । यो समयमै सकाउनुपर्ने चाप पनि छ । लकडाउनको समयमा पनि १३ जना भारतीयले काम गरिरहेको श्रेष्ठले बताए । ‘यस्तो बेलामामजदुरहरुसँगै आफू पनि खटिएर काम गर्नुपरेको छ’, उनले भने, ‘समयमा खान र सुत्न त पाएको छैन तर यातायातको चाप नभएको समयको सदुपयोग गरेका छौँ । यत्तिकै बसेका मजदुरलाई रोजागारी दिएका छौँ ।’ भारतदेखि आएर बागमती किनारमा यसरी खटिरहेको देख्दा आफ्नो देशको विकासका लागि आफू पनि उनीहरु जसरी नै खट्न खटिन मन लाग्ने इञ्जिनीयर श्रेष्ठले बताए ।