आजदेखि संसद्को बजेट अधिवेशन, यस्ता छन् कार्यसूची

बिएल संवाददाता

काठमाडाै‌ं

सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ। आज अपराह्न ४ः०० बजे बैठक बस्ने तयारी गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेकी थिइन्।

यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

शुक्रबारको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ।

सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार शुक्रबारको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेलगायतका कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

यस्तै ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ र ‘पारमाणविक विधेयक,२०७६’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने छ।

यता सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची पनि रहेको छ। 
 
आज संसदमा तीन अध्यादेश प्रस्तुत अध्यादेश प्रस्तुत हुँदेछ। प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ पेश गर्ने छन्। यस्तै गृहमन्त्री रामबहादुर थापाले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७’ पेश गर्नेछन्।

यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफेले ‘केही अध्यादेश खारेज गरी ‘नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७’ पेश गर्नेछन्। 

यता आजै शोक प्रस्ताव पारित गर्ने कार्यसुची पनि रहेको छ। प्रतिनिधि सभाको यो बैठकले २०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालिन नेपाली जनता दलबाट समानुपातिक तर्फबाट निर्वाचित सदस्य, नेपालको शिक्षा, सँस्कृति र विज्ञान क्षेत्रमा योगदा पुर्‍याएका भएका प्रा. ड.  विश्वनाथप्रसाद अग्रवालको शोक प्रस्ताव पारित गर्ने छ।  

उनको ७५ वर्षको उमेरमा २०७६ साल फागुन ३० गते शुक्रबार ललितपुरको सानेपास्थित आफ्नै निवासमा असामयिक निधन भएको थियो। 

यस्तो छ सांसदहरुलाई आचारसंहिता

संसद सचिवालयले कलम, डायरी र औषधिसमेत संसदभित्र लैजान निषेध गरेको छ। सूचीमाा कलम, डायरी, झोला, चस्मा, चाबी, सिक्का, चार्जर, छाता, लठ्ठीसमेत साथमा राख्न नपाइने उल्लेख छ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार विशिष्ट व्यक्ति, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र पत्रकार तथा दर्शकदीर्घामा लागि छुट्टाछुट्टै प्रवेशद्वार छन्। त्यहाँ निषेधित वस्तुहरुको सूची टाँस गरिएको छ।

अधिवेशनका लागि ३ सय ३४ जना सांसदलाई अलग अलग बस्नेगरी कुर्सीको व्यवस्था मिलाइएको छ।  दुवै सदनमा रहेका २–२ वटा कुर्सी छाडेर बस्न मिल्ने मिलाइएको छ। दुवै सदनको बैठक हलमा कम्तीमा एक मिटर दूरी कायम गरेर कुर्सी व्यवस्थापन गरिएको छ। 

बैठक कक्षमा प्रधानमन्त्रीलाई अलग्गै राखिने छ। उनको आसन नजिकका कुर्सी खाली राख्ने व्यवस्था मिलाइएको छ। 

संसद भवनभित्र रहेको प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री रहेको बेला ६ जनाभन्दा धेरै व्यक्ति भित्र पस्न पाउने छैनन्। प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहसहितको टोलीको सुझावको आधारमा सो व्यवस्था गरिएको हो।

सांसदहरुलाई छलफलमा भाग लिँदा ड्यासमा जानुपर्ने बाध्यता हट्ने छ। शून्य समयमा र विशेष समयमा जस्तै सांसदहरुले आफू बसेकै ठाउँमा रहेर बोल्नेछन्। संसद भवनभित्र सांसदहरुले बोल्दासमेत ख्याल गर्नु पर्नेछ। एक जना सांसदले बोलिसकेपछि माइकलाई स्यानिटाइज गरेर मात्रै अर्को सांसदले समात्नुपर्ने हुन्छ। सभाहलका हरेक टेबुलमा स्यानिटाइजरको व्यवस्था गरिएको छ।

सांसदले पहिलो दिन जुन कुर्सीमा बसेको हो संसद् बैठक चलुन्जेलसम्म हरेक दिन अर्कोमा बस्न नपाइने संसद सचिवालयले जनाएको छ।प्रतिनिधिसभा हलको माथिल्लो तलाको दर्शकदीर्घामा पनि सांसद बस्ने व्यवस्था गरिएको छ। माथिल्लो हलमा संयुक्त बैठकका दिन १ सय २० जना सांसद बस्न मिल्नेछ।

प्रतिनिधिसभा मात्र सञ्चालन भएका दिन भने माथिल्लो तलामा ६० जना सांसद बस्न मिल्ने संरचना बनाइएको छ। त्यसैगरी सभामुख, राष्ट्रियसभा अध्यक्ष, महासचिव, सचिव र कर्मचारीको बस्ने व्यवस्था पनि एक मिटरभन्दा बढी दूरीमा मिलाइएको छ।

संसद भवन छिर्नेहरुलाई सर्जिकल मास्कको प्रयोग अनिवार्य गरिएको छ। संसद भवन प्रवेश गर्ने वित्तिकै सबैले अनिवार्य रुपमा साबुनपानीले हात धुनुपर्ने हुन्छ भने शरीरको तापक्रम पनि जाँचिने छ।

संसद सचिवालयका अनुसार एक सय डिग्रीभन्दा बढी तापक्रम देखिएकाहरु बैठक कक्षमा प्रवेश पाउने छैनन्। कोरोना संक्रमणको आशंका भएकालाई संसद भवनमै रहेको आइसोलेसन वार्डमा राखिनेछ र नजिकको अस्पतालमा पठाइनेछ।

प्रकाशित मिति: : 2020-05-08 06:50:00

प्रतिकृया दिनुहोस्