२४ घण्टायता कोरोना संक्रमित थपिएनन्, कर्णाली प्रदेश ‘सेफ जोन’मा: स्वास्थ्य मन्त्रालय

२४ घण्टामा १४५१ को परीक्षण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा २४ घण्टायता कोरोना भाइरसका थप संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाले गत चौबिस घण्टामा थप संक्रमित फेला नपरेको बताए।

हालसम्म नेपालमा ९९ जनामा संक्रमण देखिएको छ ।कुल संक्रमितमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ।

प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा ३०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा २४, सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए। यस्तै कर्णाली प्रदेशमा भने हालसम्म संक्रमित भेटिएका छैनन्। कर्णाली अहिलेसम्म ‘सेफ जोन’मा रहेकाे उनले बताए।

यस्तै उनले उपचारपछि डिस्चार्ज भइसकेका तीन जनामा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको बताए। उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

१४ सय ५१ जनाको परीक्षण

डा‍.देवकोटाका अनुसार हालसम्म १४ सय ५१ जनाको काेराेना भाइरसकाे परीक्षण गरिएकाे छ ।

पीसीआरबाट १४ हजार ५ सय ९ जनाको कुल परीक्षण भएको छ भने आरडिटी विधिबाट ५४ हजार ९३ जनाको परीक्षण गरिएकाे हाे। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

उनले कोरोनाका उच्च जोखिम देखिएको नेपालगञ्ज र उदयपुरमा परीक्षणका लागि नेपाली सेनाको टोली समेत खटिएको जानकारी दिए ।

यस्तै हाल देशभर १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ। आइसोलेसनमा भने कुल १३३ जना रहेको जसमा उपत्यकाभित्र ३ जना र उपत्यका बाहिर १३० जना रहेको उनले जानकारी दिए।

यस्तै उनले रेडजोनमा देशभर ३ सय ३५ जना रहेको बताए।
 

प्रकाशित मिति: : 2020-05-07 17:07:42

प्रतिकृया दिनुहोस्