लकडाउनको ४० दिनभित्र ४९२ जनाको आत्महत्या

संसारमा कतै न कतै हरेक ४० सेकन्डमा कसैले आत्महत्या गर्ने गर्छन्। झण्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओ, ले जनाएको छ।

सडक दुर्घटनापछि सबैभन्दा धेरै १५ देखि २९ वर्षका मानिसहरूले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्।

नेपालमा डेढ महिनाको अवधिमै करिब ५०० जनाले आत्महत्या गरेका छन्।

प्रहरीका अनुसार सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेदेखि वैशाख २० गतेसम्म ४ सय ९२ जनाले आत्महत्या गरेका छन्।

सबैभन्दा धेरै आत्महत्याको घटना प्रदेश नम्वर १ मा भएको देखिएको छ। १ नम्वर प्रदेशमा ९४ जनाले आत्महत्या गरेका छन्।

प्रदेश नम्वर ५ मा पनि आत्महत्या गर्नेको सङख्या उतिकै छ। लकडाउनको ४० दिनको अवधिमा यहाँ ९३ जनाले आत्महत्या गरेका छन्।

प्रदेश नम्वर २ मा ७३, बागमती प्रदेशमा ६४ र गण्डकी प्रदेशमा ६० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङकले देखाएको छ। त्यस्तै सुदुरपश्चिम प्रदेशमा ४१ जनाले आत्महत्या गरेका छन्।

कर्णाली प्रदेशमा भने अन्य प्रदेशको तुलानामा कम आत्महत्या भएको देखिन्छ। त्यहाँ ३० जनाले आत्महत्या गरेका छन्।

उपत्यकाभित्र भने ४० दिनको अवधिमा ३७ जनाले आत्महत्या गरेका छन्। १२ जना महिला र २ जना बालबालिका समेत रहेका छन्।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीका अनुसार धेरै जसो आत्महत्याको कारण मानसिक तनाव, आर्थिक अवस्था लगायत छन्।

यसरी आत्महत्या गर्न उनीहरुले पासो प्रयोग गरेको देखिएको छ। अर्थात सबैभन्दा धेरै मानिस झुन्डिएर हत्या गरेका छन्। सल, प्लाष्टिको डोरी, कपडा प्रयोग भएको देखिएको छ।

४ सय १३ जनाले झुन्डिएर आत्महत्य गरेका छन्। ७१ जना विष प्रयोग गरेको देखिन्छ। पानीमा डुवेर आत्महत्या गर्नेको सङख्या ४ रहेको छ। हतियार प्रयोग गरे पनि आत्महत्या गर्ने गरेका छन्। यो अवधिमा ३ जनाले हतियार प्रयोग गरेर आत्महत्या गरेका छन्।

यसरी आत्महत्या गर्ने महिला मध्ये ८ जनाको घरायसी समस्याको कारण आत्महत्या गरेको खुलेको छ।

'महिलाहरुको आत्महत्यामा धेरै घरायसि कारण देखिएको छ। घरभित्रका सानासाना समस्या देखि विवादसम्मले आत्महत्या गरेको पाइएको छ। 'महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बज्राचार्यले भनिन्।

ग्रामीण क्षेत्रका बासिन्दाहरूमा आत्महत्या दर उच्च देखिएको छ र भेदभाव बेहोरेका जोखिमपूर्ण समूहहरू जस्तै शरणार्थीहरू र आप्रवासीहरू, आदीवासी, तेस्रो लिङ्गी, र कैदीबन्दीहरूमा पनि यो उच्च देखिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार द्वन्द्वको मारमा परेका, प्राकृतिक विपद, हिंसा, दुर्व्यवहारका पीडित, आफ्ना गुमाएका र आफुलाई एक्लो ठान्ने मानिसहरू पनि जोखिममा हुन्छन्।

प्रकाशित मिति: : 2020-05-07 13:45:00

प्रतिकृया दिनुहोस्