आज संघीय संसदका सबै सांसद र कर्मचारीको ‘स्वाब’ परीक्षण गरिँदै

बिएल संवाददाता

काठमाडाै‌ं

बिहीबार संघीय संसदका सांसद र कर्मचारीको स्वाब परीक्षण गरिँदै छ। शुक्रबार संघीय संसदको बर्खे अधिवेशन सुरु हुने भएकाले त्यसअघि उनीहरुमा कोरोना भाइरसकाे संक्रमण छ कि छैन भनेर स्वाब परीक्षण गरिन लागिएको हो। 

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा स्वाब संकलन गरिने सभामुख अग्नी सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

सांसद र कर्मचारीसमेत गरि पाँच सय जनाको पीसीआर परीक्षण गर्ने तयारी छ। प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन्।

संसदहरुबाट संकलित सबै स्वाब पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइने उनले‍ बताए। 

यस्तै अधिवेशनका लागि ३ सय ३४ जना सांसदलाई अलग अलग बस्नेगरी कुर्सीको व्यवस्था मिलाइएको छ। 

दुवै सदनमा रहेका २–२ वटा कुर्सी छाडेर बस्न मिल्ने मिलाइएको छ। दुवै सदनको बैठक हलमा कम्तीमा एक मिटर दूरी कायम गरेर कुर्सी व्यवस्थापन गरिएको छ।

सांसदले पहिलो दिन जुन कुर्सीमा बसेको हो संसद् बैठक चलुन्जेलसम्म हरेक दिन अर्कोमा बस्न नपाइने संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा हलको माथिल्लो तलाको दर्शकदीर्घामा पनि सांसद बस्ने व्यवस्था गरिएको छ। माथिल्लो हलमा संयुक्त बैठकका दिन १ सय २० जना सांसद बस्न मिल्नेछ।

प्रतिनिधिसभा मात्र सञ्चालन भएका दिन भने माथिल्लो तलामा ६० जना सांसद बस्न मिल्ने संरचना बनाइएको छ।

त्यसैगरी सभामुख, राष्ट्रियसभा अध्यक्ष, महासचिव, सचिव र कर्मचारीको बस्ने व्यवस्था पनि एक मिटरभन्दा बढी दूरीमा मिलाइएको छ।
 

प्रकाशित मिति: : 2020-05-07 10:23:01

प्रतिकृया दिनुहोस्