भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ।
अहिलेसम्म कुल १७ सय ८५ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै, १५ हजार ३ सय ३१ जना निको भएका छन्।
भारतमा ३० जनवरीमा केरलामा पहिलोपटक कोरोना संक्रमण भेटिएको थियो। १३ अप्रिलपछि मात्रै संक्रमितको संख्या १० हजार पुगेको थियो। यसपछिको २१ अप्रिलसम्म थप १० हजार बिरामी बढेर संख्या २० हजारमा पुग्यो।
२८ अप्रिलसम्म संक्रमित संख्या ३० हजार नाघ्यो। त्यस्तै, ३० हजारबाट ४० हजारमा पुग्न केवल ५ दिन लागेको थियो। भारत सर्वाधिक धेरै कोरोना संक्रमण महाराष्ट्र राज्यमा फैलिएको छ। यहाँ, १५ हजार ५ सय २५ जनामा संक्रमण भेटिएको छ।
भारत सरकारले लकडाउनका कारण संक्रमण फैलने क्रम धेरै हदसम्म रोकिएको दाबी गरेको छ। २४ मार्चसम्म संक्रमितको संख्या ५ सय ७१ थियो। २५ मार्चदेखि भारतमा लकडाउन लागु भयो।
यसबीच ४९ हजार ४ सय २३ जनामा कोरोना फैलिएको पुष्टि भयो। विज्ञहरुले समयमै सतर्कताका उपाय अवलम्बन नगरे भारतमा दशौँ लाखमा कोरोना फैलनसक्ने चेतावनी दिएका थिए।