ट्रम्पले भने– कोरोनाको महामारी अमेरिकामाथिको इतिहासकै ठूलो आक्रमण

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी अमेरिकामाथि भएको इतिहासकै ‘खराब आक्रमण’ रहेको बताएका छन्।

उनले कोरोना भाइरसबाट भएको क्षतिलाई दोस्रो विश्वयुद्धको बेला सन् १९४१ को डिसेम्बर ७ मा जापानी बमवर्षक विमानबाट पर्ल हार्बर द्वीपमा भएको आक्रमण र वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाबाट भएको क्षतिसँग तुलना गरे।

पत्रकारहरुसँग कुरा गर्दै उनले कोरोना भाइरसको महामारीले अमेरिकालाई पर्ल हार्बरमा जापानले प्रहार गरेका बमहरुले भन्दा पनि गम्भीर रुपमा हिर्काएको बताएका छन्। यस्तै अहिलेको महामारी सन् २००१ को सेप्टेम्बर ११ को आतंककारी आक्रमण भन्दा पनि भयानक रहेको ट्रम्पले बताएका छन्।

पत्रकारहरुसँग कुरा गर्दै उनले समयमै कोरोना संक्रमण रोकथामका लागि चीनले कदम नचालेकोले विश्वभर महामारी फैलिएको बताए।

उनले भने, ‘हामी चीनसँग खुसी छैनौं। हाम्रो पूरै परिस्थिति खुसी छैन। किनभने यसलाई त्यहीँ रोक्न सकिन्थ्यो, जहाँबाट सुरु भएको थियो।’

चीनको वुहानबाट गएको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ७३ हजार भन्दा बढीको मृत्यु भएको छ।

यस्तै अमेरिकामा संक्रमितको संख्या पनि १२ लाख २७ हजार भन्दा बढी पुगेको जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ।

यस्तै ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतिको चुनाव स्थगित नहुने पनि बताए।

चुनाव स्थगित गर्नु हुन्छ कि हुँदैन भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले चुनावको मिति सार्ने विषयमा कहिल्यै पनि सोचेको छैन। मैले त्यस्तो किन गर्ने ? ३ नोभेम्बर एक राम्रो अंक हो।’

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि आगामी राष्ट्रपतिको चुनावबारे आशंका हुँदै आएको छ। 


 

प्रकाशित मिति: : 2020-05-07 06:59:17

प्रतिकृया दिनुहोस्