२२ जना डिस्चार्ज, डिस्चार्जमध्ये तीन जनामा पुनः संक्रमण
बुधबार एकैपटक थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटालेका अनुसार संक्रमित सबै पर्साका नागरिक हुन्। संक्रमण २ महिनाको शिशुदेखि ६६ वर्ष उमेर समूहमा देखिएको हो । संक्रमित हुनेमा ७ महिला र १० जना पुरुष रहेको छन्।
योसँगै नेपालमा हालसम्म संक्रमितको संख्या ९९ पुगेको छ। जसमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन्।
मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जनाको कोरोनाको संक्रमण देखिएको हो।
थप ६ जना निको भएर घर फर्किए
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङको कोशी अस्पतालमा कोरोना संक्रमण भएर भर्ना भएका ३१ मध्ये ६ जना डिस्चार्ज भएका छन्।
उनीहरुको पछिल्लो तीन पटकको स्वाबको नमूना परीक्षण गर्दा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जानकारी दिएको छ।
कोरोना उपचार केन्द्रमा उपचाररत ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेको कोशी अस्पतालले जनाएको छ।
उनीहरु सबै उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थिए।
वैशाख ५ गते कोरोना संक्रमण पोजेटिभ आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो।
वैशाख ५ र ६ गते भुल्केस्थित मस्जिदमा रहेका १३ भारतीयमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन्।
उनीहरुलाई विराटनगरस्थित रानीको मर्कजमा पुर्याइएको बताइएको छ। उनीहरु १४ दिन त्यहीँ क्वारेन्टाइनमा बस्ने र फलोअपमा आउने गर्नुपर्नेछ।
कोशीमा अब २५ जना संक्रमितको उपचार भइरहेको छ।
३ जना निको भएर फर्किएकाहरूमा पुनः संक्रमण
कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका तीन जनामा पुनः संक्रमण देखिएको छ।
बैशाख ११ गते डिस्चार्ज भएका काठमाडौंका ५८ वर्षे पुरूषको पुन फलोअपमा आउँदा कोरोना संक्रमण देखिएको छ। उनी पाटन अस्पतालमा भर्ना भएका छन्।
यस्तै वैशाख १४ गते डिस्चार्च भएका रौतहटका १९ वर्षिय र पर्साका ४४ वर्षिय पुरूषहरूको पनि पुन परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको छ। उनीहरूको विरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका छन्।
७४ जनाको उपचार जारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार साँझसम्म अझै ७४ जना कोरोना संक्रमितहरू विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।