पुनः संक्रमण थप जोखिमपूर्ण र खतरनाक- सरूवा तथा संक्रमक रोग विज्ञ प्राध्यापक डाक्टर जीवनबहादुर शेरचन
चीनको वुहानबाट सुरू भएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या विश्वभर दिनानुदिन बढ्दैछ।
संक्रमितसँगै मृत्यु हुने र निको हुनेको संख्या पनि बढ्दो छ। विश्वभर बुधबार बिहानसम्म संक्रमितको संख्या करिब ३८ लाख पुगेको छ। जसमा निको हुनेको संख्या झन्डै साढे १२ लाख लाख रहेको छ।
नेपाल पनि कोरोना भाइरसको संक्रमणमा अछुतो छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बिहानसम्म कोरोना संक्रमितको संख्या ८२ रहेको छ जसमा १६ जना निको भएर घर फर्किएका छन्।
यद्यपी कोरोना संक्रमण भएर निको भइ घर फर्किएका नेपालका तीन जनामा पुन संक्रमण देखिएको छ।
निको भइसकेकालाई पुन संक्रमण देखिएपछि थप त्रास फैलिएको छ।
सरूवा तथा संक्रमक रोग विज्ञ प्राध्यापक डाक्टर जीवनबहादुर शेरचन
सरूवा तथा संक्रमक रोग विज्ञ प्राध्यापक डाक्टर जीवनबहादुर शेरचनका अनुसार जो मानिस कोभिड १९ बाट निको भइसकेका व्यक्तिमा सामान्यतया एक वर्षसम्ममा जुनसुकै बेला पुनः संक्रमण हुने सम्भावना हुन्छ।
शेरचनका अनुसार भाइरसविरुद्ध मानिसको रोग प्रतिरोधात्मक क्षमताले कस्तो काम गरिरहेको हुन्छ त्यहीँ आधारमा पुनः संक्रमण देखिने हुन्छ।
लक्षणहरु देखिन छाडिसकेपछि पनि शरीरमा डिटेक्टेबल मात्रामा भाइरसहरु रहन सक्ने भएकाले फेरि संक्रमण देखिनसक्ने शेरचनको दाबी छ।
‘पहिले एक पटक कोभिड-१९ बाट संक्रमित भइसकेका व्यक्तिको रोग प्रतिरोध क्षमता बढेर निको भएका हुन्छन्। तर भाइरल पार्टिकलहरू अझै उसको शरीर भित्र सुसुप्त रूपमा रहन्छ। यस्तो अवस्थामा जब मानिसको रोग प्रतिरोधात्मक शक्ति घट्छ त्यो बेला पुनः संक्रमण देखिन सक्छ’, उनले भने, ‘कुनै पनि व्यक्ति संक्रमित भएर निको भइ फर्किए पनि त्यसले १ वर्षसम्ममा जुनसुकै बेला पनि पुनः देखिने सम्भावना हुन्छ,’ शेरचनले भने।
यो भाइरसबाट मुक्त भयो भन्ने कुनै आधार छैन। कसरी सर्छ के कारणले शरीर भित्र बस्छ भन्दा पनि शरीरको रोग प्रतिरोधात्मक क्षमताले गर्दा पुनः भारइरस सक्रिय हुन्छ र पछि फूल फेजमा लक्षण देखिँदा पुन पोजेटिभ आउँछ।
निको भएर घर फर्किसकेका जो कोहीलाई पनि पुनः संक्रमण हुनसक्छ त्यसैले एकदमै सतर्क भएर बस्नुपर्ने डाक्टर शेरचनको सुझाव छ।
‘शरीरमा प्रवेश गरिसकेको भाइरस कुनै पनि बेला पुनः सक्रिय हुनसक्ने हुन्छ। यो भाइरस शरीरको शेलभित्र बस्ने भएकाले पछिसम्म पनि रहने र तत्काल निको नहुने र ट्रान्फरसमेत हुनसक्ने भएकाले कति खेर एक्टिब हुन्छ भन्ने यो अनुसन्धानकै विषय हुन्छ,’ उनले भने।
परीक्षणको विश्वसनीयता
सरुवा रोग विशेषज्ञ डा. शेरचनका अनुसार हामीले रोगका लागि लिएको नमूना परीक्षणका आधारमा पनि यो पुनः सक्रिय हुने सम्भाना हुन्छ।
यसरी पुन: संक्रमित हुनु परीक्षण विश्वसनीय नभएर हुन पनि सक्छ जसले भाइरलाई राम्ररी डिटेक्ट गर्न सकिरहेको छैन।
‘वास्तवमा यो दोहोरिनमा हामीले लिएको नमुनामा पनि भर पर्छ। शरीरका कुन भागबाट नमूना लिएका छौं। सही ठाउँबाट नमुना लिएको छ कि छैन। भाइरस एक्टिभ नभएको स्थानबाट हामीले नमूना लिएमा त्यसको रिपोर्ट सही नहुन पनि सक्छ। परीक्षणमा पनि शतप्रतिशत सही छ भन्ने अवस्था छैन। ८० प्रतिशत मात्र विश्वास हुन्छ। २० प्रतिशत अझै रहन्छ’, उनले भने।
सही तरिकाले स्वावको संकलन गरेर परीक्षण गर्यो र उपचार गरेका विश्वका विभिन्न मुलुकमा ९० प्रतिशतभन्दा माथिको सही परीक्षण हुँदै आएको उनले बताए।
रोग प्रतिरोधात्मक क्षमता
पुन: संक्रमण देखिनुको अर्को कारण शरीरको रोग प्रतिरोधात्मक क्षमता नै हो। शेरचनका अनुसार यसरी पुन: संक्रमित देखिनुमा ती मानिसहरुमा रोग प्रतिरक्षा प्रणालीमा समस्या भएको हुनुपर्दछ । त्यसैले उनीहरुले सही एन्टिबडी निर्माण गरेनन्।
एन्टिबडी भनेको इम्युन सिस्टमले उत्पादन गर्ने प्रोटिन हो । जसले भाइरस, ब्याकटेरिया वा प्याथोजिन( रोग उत्पादन गर्ने जीव) लाई नष्ट गर्छ । यदि भाइरस फिर्ता आयो भने पनि एन्टिबडीहरु सामान्तया संक्रमणपछि रक्तप्रवाहमा सुस्त अवस्थामा रहिरहन्छन् । यदि सो भएको खण्डमा एन्टिबडी तयार र पर्खाइको अवस्थामा रहन्छ अर्थात इम्युन सिस्टमले यति छिटो प्रतिक्रिया जनाउँछ कि दोस्रो संक्रमण हुने सम्भावना एकदम कम हुन सक्छ ।
यो फेरि सङ्क्रमण नभई पुरानै भाइरस फेरि बल्झिएको हो। रोग प्रतिरोधी क्षमता घट्दा शरीरमा रहेका भाइरस बल्झिन सक्छ।
व्यक्तिगत इम्युनिटी मात्र होइन ‘हर्ड इम्युनिटी’ले पनि रोगसँग लड्न सक्ने क्षमता कायम गराउँछ । हर्ड इम्युनिटी भनेको जनसंख्याको निश्चित प्रतिशतमा संक्रामक रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता विकसित हुनु हो । यो इम्युनिटिले रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई मात्र सुरक्षा दिँदैन यसले भाइरसको संक्रमण सुस्त र संक्रामक रोग फैलिन सहयोग गराउँछ ।
भाइरस संक्रमण बेला बिरामीको शरीरमा एन्टिबडी विकास हुन्छ जुन संक्रमण गराएको भाइरससँग सम्बन्धित हुन्छ । उनीहरु जब निको हुन्छन् , एन्टिबडी हराइसकेको हुँदैन। त्यसैले यी मानिसमा पुन: संक्रमण देखिनु कारण उनीहरुको शरीरमा केही मात्रामा भाइरस छुटेको हुन्छ।
पुनः संक्रमण खतरनाक
पुन संक्रमण नयाँ केशभन्दा खतरा हुन्छ। उपचार पछि घर फर्किएर ढुक्कले उनीहरू आफन्तसँग घुलमिल गरेका हुन्छन्। यस्ता व्यक्तिको सम्पर्कमा आउनेसमेत संक्रमित हुनसक्ने भएकाले यस्ता व्यक्तिबाट अरूमा भाइरस सर्ने धेरै सम्भावना हुन्छ।
संक्रमितहरू निको भएर घर फर्किसकेपछि पनि आफ्नो स्वास्थ्यमा खास ध्यान दिनुपर्छ। जसरी संक्रमित भएकै बेला बसेका हुन्छौ, त्यसरी नै बस्नुपर्छ। यो कम्तिमा एक वर्षसम्म सुरक्षित भएर बस्नुपर्ने हुन्छ।
शरीरमा भाइरस भएपछि कुनै पनि बेला भाइरस रिभाइब हुनसक्ने भएकाले सतर्क रहनुपर्ने हुन्छ।
यसैबीच विश्वभरका अध्ययनकर्ताहरु अझै पनि इम्युन सिस्टमले कोरोना भाइरसँगको विरुद्धमा कसरी प्रतिक्रिया जनाउँछ भनेर थाहा पाइसकेका छैनन् साथै निको भएकालाई पनि पुन: किन देखिन्छ भनेर यकिनका साथ भन्न सकेका छैनन्। विज्ञहरुका अनुसार सावधानी अपनाउन फिजिकल डिस्टेन्सिङ र सेल्फ क्वारेन्टाइन नै उत्तम उपाय हो।