जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना भाइरस संक्रमणपछि अस्पतालबाट निको भएर घर फर्केका व्यक्ति पुनः पोजेटिभ देखिएर अस्पताल भर्ना भए पनि त्यस्ता बिरामीबाट अरुमा रोग नसर्ने प्रष्ट पारेका छन् ।
नियमित रुपमा कोरोना सचेतनाका लागि आफ्नो फेसबुकबाट सन्देश प्रवाहित गर्दै आएका डा. पाण्डेले काठमाडौंको सनसिटी अपार्टमेन्ट र वीरगञ्जको नारायण उपक्षेत्रीय अस्पतालमा पुनः भर्ना भएको घटनाबारे यस्तो उल्लेख गरेका हुन् ।
‘संक्रमणबाट निको हुने क्रममा वा निको भएको केही समयमा भाइरस लिट्टर अर्थात् निस्क्रिय भाइरसका कण र मृत कोष खोक्दा फोक्सोबाट घाँटीमा निस्किन्छन्, जब कोरोना संक्रमण जाँच गर्नको लागि घाँटीभित्रबाट स्याम्पल लिइन्छ, ती मृत कोष देखिन्छन्’, उनले भनेका छन्, ‘पीसीआर टेस्ट संवेदनशील परिक्षण हो । त्यसमा मृत कोष वा निस्क्रिय भाइरसका टुक्रालाई पनि पोजिटिभ देखाउन सक्छ । त्यो टेस्टमा देखिएपनि अरु व्यक्तिलाई सर्दैन ।’
डा. पाण्डेको सन्देशको पूर्ण पाठ :
कोरोना संक्रमण पुन : पोजिटिभ देखिएकोबारे – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ
...
सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ पुरुषमा फलोअप जाँचको क्रममा कोरोना संक्रमण पुन : पोजिटिभ देखिएको छ । यसबाट आम नागरिकमा अन्योलता देखिएको छ । यस्ता केस अमेरिका, कोरिया, चीन लगायत धेरै देशमा देखिएका छन् । यसका कारण देहाय बहोजिम छन् ।
- संक्रमणबाट निको हुने क्रममा वा निको भएको केही समयमा भाइरस लिट्टर अर्थात निस्क्रिय भाइरसका कण र मृत कोष खोक्दा फोक्सोबाट घांटीमा निस्किन्छन् । जब कोरोना संक्रमण जांच गर्नको लागि घांटीभित्रबाट स्याम्पल लिइन्छ, ती मृत कोष देखिन्छन् । PCR टेस्ट संबेदनशील परीक्षण हो । त्यसमा मृत कोष वा निस्क्रिय भाइरसका टुक्रालाई पनि पोजिटिभ देखाउन सक्छ । त्यो टेस्टमा देखिएपनि अरु व्यक्तिलाई सर्दैन |
- परीक्षणमा त्रुटी भएमा, परीक्षणमा प्रयोग भएका रसायनको गुणस्तर राम्रो नभएमा ती रसायनले भाइरसलाई चिन्न नसकिने बनाउन सक्छन् |
- CDC कोरियाका निर्देशक जियांग ईन-क्योंगले भनेका छन् कि बिरामीहरू पुनः संक्रमित हुनुको सट्टा भाइरस 'पुनः सक्रिय' भएको हुन सक्छ।
- फ्लोरिडा कलेज अफ मेडिसिनका प्राध्यापक इमेरेटस रिचर्ड कोन्डिट भन्छन्- 'धेरै व्यक्तिहरूले के बुझ्दैनन् कि पीसीआरले केवल भाइरसको आनुवंशिक सामग्रीको परीक्षण गर्दछ र यो सक्रिय भाइरसको लागि मात्र होइन ।'
- कोरियामा निको भएका २.१ % मा केही हप्तापछि कोरोना संक्रमण पोजिटिभ देखिएको KCDC ले जनाएको छ । त्यस्तै चीनमा ५-१०% मा निको भएको केही हप्तापछि पोजिटिभ देखिए ।
- ती मध्ये ४४ % मा सामान्य लक्षण देखिन्छन्।
- परीक्षणको लागि प्रयोग हुने केमिकल, प्राविधिकको क्षमता आदिले पनि रिपोर्टमा फरक पार्न सक्छ ।
- कोरोना परीक्षणमा प्रशस्तै फल्स पोजिटिभ र फल्स नेगेटिभ रिपोर्ट आउँछ । कहिलेकाहीँ स्वास्थ्यकर्मीले बिरामीबाट पर्याप्त 'स्याम्पल' लिएका हुँदैनन् । स्याम्पलको संकलन, सुरक्षण, परिवहन र परीक्षणमा विशेष मेहेनत नगर्ने हो भने गलत रिपोर्ट आउन सक्छ ।
- पोजिटिभ देखिए पनि खतरा हुँदैन र अरुलाई सर्दैन । तसर्थ निको भएका बिरामीमा पुन: पोजिटिभ देखिएमा बिरामीलाई पनि खतरा हुँदैन र ती संक्रमितबाट अन्य व्यक्तिलाई पनि रोग सर्दैन ।