काेराेना टास्क फाेर्स खारेज गर्दैछाैँ : राष्ट्रपति ट्रम्प

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रण सम्बन्धी प्रयासको समन्वय गरिरहेको ह्वाइट हाउस कोरोना भाइरस टास्क फोस बन्द गर्ने तयारी भएको बताएका छन्।

उपराष्ट्रपति माइक पेन्सका अनुसार टास्क फोर्स अबको हप्तादिन भित्र बन्द हुने बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

फोनिक्समा रहेको मास्क उत्पादक कम्पनीको प्लान्टमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘माइक पेन्स र टास्क फोर्सले राम्रो काम गरेका हुन्। तर अब हामीले अलि फरक रुपमा हेरिरहेका छौँ, र त्यो भनेको सुरक्षा र व्यवसाय सञ्चालन हो। त्यसका लागि हुन सक्छ हामीले नयाँ समूह बनाउने छौँ।’

पत्रकारले टास्क फोर्स स्थापना गरेर जे गर्न खोजिएको थियो वा त्यसको मिसन पूरा भयो भनि पत्रकारले गरेको प्रश्नमा ट्रम्पले भने, ‘भएको छैन, पक्कै पनि पूरा भएको छैन। मिसन त्यो बेला पूरा हुन्छ, जुन बेला यो महामारी अन्त्य हुन्छ।’

अहिले अमेरिकामा प्रत्येक दिन औसत २० हजार कोरोना भाइरसका बिरामी देखिने गरेका छन् भने एक हजारभन्दा धेरैको ज्यान गइरहेको छ। अमेरिकामा कोरोनाको कारण अहिलेसम्म १२ लाख सङ्क्रमित भएका छन् भने झण्डै ७० हजारको ज्यान गइसकेको छ। 

कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा अहिले टास्क फोर्समा रहेका डा‍. डेबोराह बिक्र्स र डा. एन्थोनी फाउचीको संलग्नता कायमै रहेको बताए पनि ट्रम्पले उनीहरुको सट्टा अरु विज्ञ आउने स्पष्ट संकेत गरेका छन्।

त्यसअघि मंगलबारको ब्रिफिङ्गको क्रममा उपराष्ट्रपति माइक पेन्सले टास्क फोर्स चाँडै बन्द हुने बताएका थिए। पेन्स टास्क फोर्सका नेतृत्वकर्ता हुन्।

ह्वाइट हाइसकी प्रेस सचिव केली मैकएनानलीले यस विषयमा अमेरिकी सरकारले वैज्ञानिक र विशेषज्ञसँग सल्लाह नलिएको भन्ने आरोपको खण्डन गरेकी छिन्।  

प्रकाशित मिति: : 2020-05-06 07:43:24

प्रतिकृया दिनुहोस्