स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना संक्रमण देखिएका सवैको उपचार सुरू गरिएको जनाएको छ ।
मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मंगलबार कोरोना देखिएका ७ जनाको उपचार सुरू गरिएको जानकारी दिए। कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८२ जनाको नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म पिसिआर र आरडिटीबाट ६६ हजार ७७ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ हजार ८ सय ५० जनाको पिसिआर र ५२ हजार २ सय २७ जनाको आरडिटिबाट परीक्षण भएको प्रवक्ता देवकोटाले बताए।
मन्त्रालयका अनुसार प्रदेश १ मा ६ हजार १ सय २२, प्रदेश २ मा ५ हजार ७ सय ७८, बागमतिमा ८ हजार ९ सय ४०, गण्डकीमा ६ हजार ७५, प्रदेश ५ मा ५ हजार १ सय ९३, कर्णालीमा ५ हजार ८ सय ७६ र कर्णाली प्रदेशमा १४ हजार २ सय ४४ जनाको आरडिटिबाट परीक्षण भएको छ।
प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमितको उपचार जारी रहेको उनले बताए।
कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र २ र बाहिर १ सय १८ गरी कुल १ सय २० जना अस्पतालको आइसोलेसनमा छन्। मुलुकभर अहिले २१ हजार ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
आज बिहान थप ७ जनामा कोरोनाको सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । १६ जना निको भएका छन् भने ६६ जनाको उपचार भइरहेको छ।
कोरोनाको शङ्का लागेर अहिलेसम्म मन्त्रालयको वेभसाइट, मोबाइल एपमार्फत र फोन गरेर ३२ हजार जनाले फारम भरेका र उनीहरुले बताएका लक्षणका आधारमा ३ सय ३० जना ‘रेड जोन’मा परेका प्रवक्ता देवकोटाको भनाइ छ।
यसैबीच स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पीसीआर र आरडीटी दुवै विधिबाट कोरोनाभाइरसको परीक्षण गर्ने स्वास्थ्य उपकरणहरूको अभाव भएको बताएका छन्।
मन्त्रालयका एक अधिकारीका अनुसार उपकरण अभावकै कारण कतिपय स्थानमा नमुना सङ्कलन कार्य रोकिएको थियो। यद्यपी प्रयोगशाला परीक्षण नरोकिएको जनाइएको छ।
पछिल्लो पटक नेपालगञ्जमा २३ सहित देशभरि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८२ पुग्दा परीक्षणलाई अझ व्यापक विस्तार गराउनुपर्ने विज्ञहरूले जोड दिइरहेका छन्।
पीसीआर परीक्षण विधि जटिल, महंगो र समय लाग्ने भए पनि यसलाई आरडीटीको तुलनामा विश्वसनीय मान्ने गरिन्छ।
पीसीआर विधिमा नतिजा आउन कम्तिमा छ घन्टा लाग्ने तर आरडीटीमा १५ मिनेटमै नमुना प्राप्त हुने बताइन्छ।
नेपालले शंङ्कास्पद व्यक्तिहरू जाँच्न आरडीटी विधि अपनाए पनि सङ्क्रमित भए या नभएको टुङ्गो पीसीआर विधिमार्फत् गरिने प्रयोगशाला विधिबाट लगाउने गरेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार यो मंगलबार साँझ ६ बजेसम्ममा ३६ लाख ६५ लाख मानिसमा कोरोना संक्रमित फेला परेका छन्। जसमध्ये १२ लाख मानिस निको भएर घर फर्किएका छन् भने २ लाख ५३ हजार मानिसको ज्यान गुमेको छ।
कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म १२ लाख १३ हजारभन्दा बढीमा संक्रमण फेला परेको छ भने ७० हजारको ज्यान गइसकेको छ।
यस्तै छिमेकी मुलुक भारतमा ४७ हजार संक्रमित फेला पर्दा १५७१ जनाको ज्यान गुमेको छ।