दैनिक २ हजार मानिस काठमाडौं भित्रिरहेका छन्
सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्नका लागि भन्दै गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरेको छ। लकडाउनको समयमा अत्यावश्यक काममा बाहेक जो कोहीलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।
संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि सरकारले नै एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहमा अर्को स्थानीय तहमा जानसमेत नदिने निर्णय गरेको छ।
यद्यपी सर्वसाधारणको ओहोरदोहोर भने रोकिएको छैन। बरू अलपत्र परेको नाममा काठमाडौंबाट वाहिर र वाहिरबाट काठमाडौंमा यात्रु ओसार्ने होडबाजीनै चलेको देखिन्छ।
संक्रमणको जोखिम बेवास्ता गरी यात्रु ओसार्ने काममा जनप्रतिनिधि नै संलग्न छन्। सवारीसाधनमार्फत दैनिक महानगरीय ट्राफिक प्रहरीका अनुसार करिब २ हजार यात्रु काठमाडौं भित्रिरहेको र काठमाडौंबाट पनि त्यति नै संख्यामा बाहिरिइरहेका छन्।
लकडाउनका बेला अत्यावश्यक सेवा बाहेकका सवारी चलाउन स्थानीय प्रशासनको अनुमति चाहिन्छ। तर प्रशासन र स्थानीय तहले जथाभावीरुपमा पास बाँडेर दुरुपयोग गरिरहेको पाइएको छ।
काठमाडौंमा अत्यावश्यक सेवाका सहित दैनिक ९ सय हाराहारीमा सवारीसाधन भित्रिरहेका छन्। अत्यावश्यक सेवाका सवारी साधनले पनि यात्रु ओसारिरहेका छन्। यसले संक्रमणको जोखिम सँगै लकडाउनको औचित्यमाथि नै प्रश्न उठाएको छ।
यता लामो दूरीमा चल्ने सवारीबाट पनि संक्रमणको जोखिम बढ्न सक्ने भन्दै काठमाडौंको मूख्य नाका नाकढुङगामा स्यानिटाईजर डिसइन्फेक्सन स्प्रे टनेल स्थापना गरिएको छ।
काठमाडौं उपत्यका भित्रने सवारीसाधानबाट हुने जोखिमलाई मध्यनजर गर्दै नाक ढुङगामा स्यानिटाईजर डिसइन्फेक्सन स्प्रे टनेल स्थापना गरिएको छ। यो टनेलबाट छर्किने निःसंक्रामक औषधिबाट उपत्यका भित्रने सवारीसाधान संक्रमण मुक्त हुने विश्वास गरिएको छ। उपत्यका भित्रने हरेक सवारीसाधान अब यहि टनेलबाट प्रवेश गर्नुपर्छ ।
उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारीसाधानले कोरोना भाइरसको संक्रमणलाई अझ बढाएपछि उपत्यका प्रवेश गर्ने मुख्य नाका नाकढुङगामा यो टनेल स्थापना भएको हो। नगरपालिकाले निर्माण गरेको टनेललाई प्रहरीले संरक्षण र सञ्चालन गरिरहेको छ।
यसअघिनै काठमाडौं महानगरपालिकाले रोजगारी गुमाएर र अन्य कारण खान नपाउने स्थितिमा पुगेकाको जिम्मा स्थानीय तहले लिने तर यात्रु ओहोर दोहोर गर्न पूर्ण रुपमा बन्द गर्नुपर्ने बताउँदै आएको छ।
लकडाउन गरिनुको मुख्य कारण संक्रमणको जोखिम हो। त्यसैले जनप्रतिनिधिले अलपत्र परेका यात्रुलाई घर पठाउन होडबाजी गर्ने भन्दा उनीहरुलाई खान बस्न सहयोग गरेर संक्रमण रोकथाममा पहलकदमी लिनुपर्ने देखिन्छ।
यो होडबाजी कायम रहे काठमाडौंजस्ता जनघनत्व धेरै रहेका सहरमा महामारीले जुनसुकै बेला उग्र रूप लिन सक्ने जोखिम छ।
यता काठमाडौं भित्र पनि सवारी साधान बाक्लो मात्रामा चलेको पाइएको छ। लकडाउनमा सडक सुनसान हुनुपर्ने हो। बाटोमा सवारी साधन नगण्य हुनुपर्ने हो। अतिआवश्यक सेवा वितरणका र आपतकालीन अवस्थाका बाहेक अन्य सवारी गुड्न नपाइने भनेर सरकारले उर्दी नै जारी गरेको छ। तर, लकडाउनको समय लम्बिँदै जाँदा सडकमा सवारी साधनको चाप बढ्दै छ।
लकडाउनको सुरू सुरूमा केही पातलो रहेको काठमाडौं उपत्यकाको सडक हिजोआज सार्वजनिक विदामा जस्तै देखिन थालेको छ।
सडकमा ट्राफिक प्रहरीहरूले गुडिरहेका सवारी साधनसँग अनुमति पत्र भए, नभएको जाँच गरिरहेका भेटिन्छन्। जाँचका लागि रोकिएका सवारीको लाम अधिकांश ठाउँमा लामो भेटिन्छ।
पछिल्लो समय काठमाडौंमा केही निजी तथा सरकारी कार्यालयहरू खुल्न थालेका छन्। यो सँगै चाप बढ्नु स्वभाविकै हो।
सँगै सडकमा बढ्दो गतिविधिले पनि मानिसहरु कोभिड-१९ को त्रासबाट मुक्त हुँदै गएको देख्न सकिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म ५९ जना संक्रमित फेला परेका छन् भने १६ जना निको भएर घर फर्किसकेका छन्।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा कोही पनि कोरोना संक्रमित छैनन्। यसअघि फेला परेका ५ मध्ये सबै निको भएर घर फर्किसकेका छन्।
मन्त्रालयका अनुसार उदयपुरमा २८ जना, पर्सामा ६, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३, बागलुङ, बारा, चितवन र झापामा २-२ जना, बाँके, भोजपुर, धनुषा, कञ्चनपुर र रूपन्देहीमा १-१ जना संक्रमित फेला परेका छन्।
यसमध्ये काठमाडौंमा ५, कैलाली र पर्सामा ३-३, बागलुङमा २, रौतहट, चीतवन र कञ्चनपुरमा एक-एक जना निको भएर घर फर्किएका छन्।
यो समाचार तयार पार्दासम्म विश्वका २१२ मुलुकमा ३४ लाख ८५ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणमा छन्। यसमध्धे २ लाख ४४ हजार ७७८ जनाको ज्यान गइसकेको छ। ११ लाख २२ हजार मानिस निको भएर घर फर्किएका छन् भने अझैं २१ लाख १८ हजार मानिस उपचार गराइरहेका छन्।
छिमेकी मुलुक भारतमा पछिल्लो समय कोना भाइरस संक्रमितको संख्या उल्लेख्य मात्रामा बढेको छ। पछिल्लो २४ घन्टामा २४५० जना संक्रमित थपिँदा मृत्यु हुनेको संख्या १३ सय नाघेको छ। अझै भारतमा २८ हजार मानिस उपचार गराइरहेका छन् भने ११ हजार मानिस निको भएर घर फर्किएका छन्।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ ।
यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एएक जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए।
डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये एक हजार ५७० जना संक्रमणमुक्त भएको जनाइएको छ । उनका अनुसार मध्यपूर्वका केही देशमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ । ती देशले दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडा नुसार २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १२६, युएईमा एक सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १०, बेल्जियम र जापानमा ६–६, स्वीडरल्याण्ड र क्यानडामा पाँचपाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएन, कोडिभ– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।