कोरोना भाइरस वुहानको ल्याबबाटै बाहिरिएको हो: अमेरिकी गुप्तचर

ज्योति देवकोटा

वासिङ्टन, डिसी

अमेरिकाको राष्ट्रिय गुप्तचर (खुफिया एजेन्सी) ले कोरोना भाइरस चीनकाे वुहानस्थित ल्याबमै निर्माण भएकाे निश्कर्ष निकालेकाे छ। गत महिनादेखि कोरोना भाइरस प्राकृतिक हो वा चिनियाँ ल्याबबाट बाहिरिएको भन्ने अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरु अन्तत: याे निश्कर्षमा पुगेका हुन्।

अमेरिकाभित्र १७ वटा गुप्तचर संस्था कोरोना भाइरसबारे सुक्ष्म अनुसन्धानमा संलग्न थिए। १७ मध्ये करिब ११ वटा संस्थाले असावधानिका कारण वुहानको ल्याबबाट काेराेना भाइरस दुर्घटनावस फैलिएको निश्कर्ष निकालेकाे अनुसन्धानमा संलग्न अधिकारीले बिएल नेपाली सेवालाई बताए। 

गत बिहीबार मात्र प्रमुख राष्ट्रिय खुफिया एजेन्सीले विज्ञप्ती जारी गर्दै भनेको थियो,‘हामी यो भाइरस ल्याबमा बनेको हो वा होइन भन्ने कुराको निरन्तर अनुसन्धान गरिरहेका छौं। तर भाइरस ल्याबमा बनाइएको भन्ने कुरालाई विश्वास गर्ने प्रष्ट आधार भने छैनन्।’ त्यसको दुई दिनपछि एक बरिष्ठ अनुसन्धान अधिकारीले दावी गरे कि यसको अनुसन्धानमा लागेका करिब ७० प्रतिशत एजेन्सीहरु एक ठाउँमा उभिएका छन्।

उनीहरुकाे सुई सुरुमै भाइरस मानव निर्मित नरहेको थाहा भए पनि यसको संक्रमण जनावर हुँदै मानवसम्म फैलियो वा प्रयोगशालामा भएको कुनै दुर्घटनाका कारण हो भन्ने कुरामा राेकिएकाे थियाे।

अहिले उनीहरुले यसको उद्गम थलो वा उत्पत्ति कहाँ भएको थियो भन्ने बारे अनुसन्धान जारी रहेको बताउँदै आएका छन्।

अमेरिकाले यसअघि नै चीनमाथि कोरोना भाइरसलाई जैविक हतियारका रुपमा विकास गरेको आराेप लगाउँदै आएको छ।चीनले भने यसकाे खण्डन गर्दै आएको छ।

गत बिहीबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो भाइरस वुहानको भाइरोलोजी अध्ययन संस्थामा बनाइएको र त्यहाँबाट बाहिरिएको भन्ने केहि महत्वपूर्ण प्रमाणहरु आफ्नो हात लागेको दावी गरेका थिए।

उनकाे दावीसँगै भाइरस ल्याबमै बनेको हो भन्ने बहस अमेरिकी मिडियामा चुलिएको थियो। ‘चाइनाले नियतवस् बाहिर नल्याएर कुनै दुर्घटनाले यो भाइरस बाहिरिएको हुन सक्छ,' रुगर विश्वविद्यालयका प्रोफेसर रिचार्ड इब्राइटले बताएका थिए।

कोरोना भाइरसको संक्रमण पहिलो पटक डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको थियो। त्यसयता विश्वभरि ३४ लाख बढी मानिस यसबाट संक्रमित भइसकेका छन्। कोभिड–१९ का कारण दुई लाख ४४ हजारभन्दा बढीको ज्यान गइसकेकाे छ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ११ लाख ६० हजार बढी संक्रमित छन् भने त्यहाँ मृत्यु हुनेको संख्या ६६ हजार ९ सय बढी पुगेको छ।
 

प्रकाशित मिति: : 2020-05-03 08:54:47

प्रतिकृया दिनुहोस्