वामदेव गाैतमलाई पाल्पा-१ बाट उपचुनाव लड्न महासचिव पौडेलकाे प्रस्ताव

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेलगत्तै महासचिव विष्णु पौडेलले गौतमलाई पाल्पा निर्वाचन क्षेत्र नम्बर-१ खालि गराएर प्रतिनिधिसभामा लैजाने प्रस्ताव गरेका छन्। 

शनिबार साँझ सम्पन्न बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गाैतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने वचन दिएकाे पार्टीका प्रवक्ता नारायणकारी श्रेष्ठले जानकारी दिएका थिए।

पाल्पा निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित सांसद दलबहादुर रानालाई राजीनामा गर्न लगाएर उक्त क्षेत्रबाट गौतमलाई उपनिर्वाचित गराएर प्रतिनिधिसभामा लैजाने याेजना महासिचवले बनाएका हुन्। उनले गाैतमलाई याे प्रस्ताव गरेकाे नेकपा स्राेतकाे दाबी छ। गाैतमलाई जिताएर ल्याउने जिम्मा पनि आफूले लिने बताएकाे स्राेतकाे दाबी छ।

सांसद राना गाैतमकाे नजिकमा व्यक्ति मानिने गरिन्छ। गएकाे बुधबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नाे पक्षमा सांसद जम्मा गर्न हस्ताक्षर अभियान चलाउँदा उनी गाैतम खेमामा उभिएका थिए। 

उक्त क्षेत्र मगरबहुल मानिन्छ। गाैतमका मगर ससुराली हुन्। अर्काेतर्फ उक्त स्थान पूर्वएमालेकाे बलियाे प्रभाव भएकाे क्षेत्र हाे। गाैतमले पञ्चायतकालमा त्यस क्षेत्रमा पार्टीकाे काम गरेका पनि हुन्। गाैतमलाई प्रतिनिधिसभामा ल्याउन महासचिव पौडेल चाहन्छन्। पाैडेललाई गाैतमले नै ०५१ सालमा संगठन विभाग प्रमुख बनाएका थिए।

गएको बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पदत्याग गर्नुपरे काेराेना भाइरसकाे महामारीपछि गौतमलाई प्रधानमन्त्री बनाउने गरी पदत्याग गर्ने प्रस्ताव गरेका थिए।

त्यहाँदेखि नै उपाध्यक्षा गौतम, प्रचण्ड-नेपाल गठबन्धनका बैठकमा सहभागी हुन छोडेका थिए। यता प्रधानमन्त्री एक्लै पर्ने डरले महासचिव पाैडेलले गाैतलमलाई अगाडि सारेकाे बुझिन्छ। तर गाैतमलाई सांसद रानाकाे ठाउँमा उठाउँदा तल्लाे तहबाट के प्रतिकृया आउँछ साेही निर्णयलाई मान्यता दिइने स्राेतले बताएकाे छ। 
 

प्रकाशित मिति: : 2020-05-02 23:15:11

प्रतिकृया दिनुहोस्