मृत्युको छैन ठेगाना
कैले कसरी आउँछ
मृत्यु त जन्मनासाथ
सँगसँगै आएको छ
मात्र मौका पर्खिएको छ
कहाँ कैले कसरी भनेर ।
मान्छेहरू देखिरहेका छन्
मान्छे मृत्युद्वारमा लाम लाग्याछन्
आज हो या भोलि या अहिले
तर मान्छे निश्चिन्त छन्
मर्दै मर्दिन कि भनेर
तर नमरी सुखै छैन
मेटिन्छ सबैथोक मान्छेको
किस्तिको पाइला मेटिए झैं
बस रहन्छ उसको
यश र कीर्तिमात्र जगतमा ।
यसै गरी म पनि मर्नसक्छु
ऐले, आज, भोलि या पर्सी
एक्लै आएको थिएँ हिजो
एक्लै फर्किन्छु भोलि
सारा चाह र इच्छा दफन गरेर
यौटा बिन्ति तिमीलाई मेरो
जीवनमा त भएनौ सँगै हामी
तर मेरो प्राणविहीन शरीरमा
दुइटा थुँगा फूल र
दुई थोपा आँसु भने
अवश्य चढाउन आउनु है ।