अमेरिकाले कोरोना भाइरस (कोभिड–१९)को उपचारमा ‘रेमडेसिभिर’ औषधिको प्रयोग गर्न अनुमति दिएको छ। शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो।
गिलेड कम्पनीले निर्माण गरेको रेमडेसिभिर औषधि कोरोना भाइरस संक्रमणको कारण अस्पतालमा भर्ना भएका बिरामीलाई दिइनेछ।
यो औषधिले कोरोना भाइरसको लागि प्रभावकारी देखिएको अमेरिकाको सरकारी अध्ययनले देखाएको छ। अध्ययनमा एक हजार ६३ गम्भीर लक्षण भएका बिरामीलाई सामेल गरिएको थियो।
यो औषधिले मानिसहरू छिट्टै नै निको हुने अध्ययनमा उल्लेख गरिएको छ। यो औषधि दिएका मानिसहरू औसतमा ११ दिनमा निको भएर घर फर्किन सक्छन्। तर, सामान्य अवस्थामा भने औसतमा १५ दिन लाग्ने गरेको छ।
यो औषधिले मृत्यु हुनेको संख्यामा पनि कमी आउन सक्ने बताइएको छ। कोरोनाको औषधि अहिलेसम्म पत्ता नलागेको र अझै यसको खोप आउन एक वर्षभन्दा लामो समय लाग्न सक्ने बताएकाले अहिले अन्य रोगको लागि बनाइएको औषधिको परीक्षण कोरोना नियन्त्रणको लागि भइरहेको छ।
यसैबीच, गिलेडले १५ लाख सिसी औषधि अनुदानमा दिने र यसको उत्पादन बढाउने निर्णय गरेको छ। यद्यपि यसअघि चीनले गरेको परीक्षणमा भने रेमडेसिभिर उपचारमा निष्प्रभावी रहेको बताएको थियो।