‘मामु, मेरो बुवा खै, के नाम हो मेरो बुवाको?,’ ६ वर्षकी छोरी आकृतिको अनपेक्षित प्रश्नले जोडसँग मेरो मुटुमा ठेस लागेको आभास भयो। छोरीको प्रश्नले तरकारी काटिरहेकी मेरो कतिखेर हात काट्यो त्यो पनि थाहा भएन। आकृति एकतमासले प्रश्न सोधिरहेकी थिई।
जबदेखि आकृतिले होस सम्हाली तबदेखि उसलाई ‘बाबा विदेश जानुभएको छ’ भनेर बाहना बनाईरहेकी थिएँ। किनकि, मेरी छोरीलाई यथार्थ बताउने साहस ममा थिएन। न त आकृतिसँग मेरो कुरा बुझ्न सक्ने सामर्थ्य नै थियो।
त्यो कहालीलाग्दो विगत कसरी बिर्सन सक्छु र म?
***
‘हेर् छोरी भनेको मान्। तैँले विवाह गर्नैपर्छ। तँलाई अब उनीहरूले नै पाल्छन्। राम्रो घरपरिवाबाट केटाको कुरा आएको छ । यो सम्बन्ध त्यसै गुमाउनु हुँदैंन,’ केही नबोली म आमाको कुरा सुनिरहेकी थिएँ। आमाको कुरामा बुवा पनि सहमति जनाउँदै हुनुहुन्थ्यो।
बुवा, आमा दाइ र म भएको सानो परिवार थियो हाम्रो। बुवा जजमानी काम गर्नुहुन्थ्यो। गाउँमा सबैले बुवालाई राम्रो मान सम्मान दिएका थिए। दाइ काठमाडौंमा पढाई सकेर बैंकमा जागिर खानुहुन्थ्यो। सबैकुरा पुगेकै थियो। स्नातकसम्मको अध्ययन गरेपछि मलाई विवाहको दबाब आउन थाल्यो।
मलाई राम्रो काम सुरू नगरी विवाह गर्न पटक्कै मन थिएन। तर कसले सुनोस् मेरो वेदना, कसले देखोस् मेरो आँशु । न दाइ न बुवा न त आमाले नै सुन्नुभयो मेरो कुरा। ‘राम्रो कूल घरानको, पढेलेखेको केटा छ। विवाहपछि तँ पनि काठमाडौं बस्न पाउँछस्। मन सानो नबना छोरी,’ आमाबुवा पालैपालो सम्झाउँदै हुनुहुन्थ्यो।
बुवाआमाको जिद्दीको अगाडि मेरो केही चलेन। अनि पक्का भयो मेरो विवाह। काठमाडौंदेखि गजुरीसम्म छोरी हेर्न पुगेका खकुरेल परिवारले ‘आफ्नै जातको केटी भेटेँ’ भनेर मख्ख परेका थिए, मलाई देख्नासाथ। केटा पनि हेर्दा राम्रो देखिन्थ्यो। दुबै परिवारको राजीखुसीमा मेरो विवाह पक्का भयो।
जब विवाह पक्का भयो तब मेरो मनमा अनेकौं तर्कविर्तक खेल्न थाल्यो। नयाँ घर र नयाँ परिवारको रहनसहन कस्तो होला के होला भनेर सोच्दा सोच्दै विवाहको दिन आयो।
मेरो बुवाले कुनै पनि कमी हुन दिनुभएन आफ्नो छोरीको विवाहमा। घरका सबै सदस्यका लागि नयाँ लुगाफाटा सहित हुनेवाला ज्वाँइको लागि पनि सबै गहना जोडिदिनु भयो।
सबै रितीरिवाजको पालना गरेर २१ वर्षको उमेरमा म आफ्नो गाउँ गजुरीबाट बिदा भएर सोभित खकुरेल र उसको परिवारको साथमा विवाह गरेर काठमाडौं पुगेँ। सानोमा एक दुई पटक काठमाडौं आएको बाहेक मलाई काठमाडौंको बारेमा अरू खासै केही याद छैन।
अब आफू जन्मेर हुर्केको आफ्नो घरलाई चटक्कै छोडेर अरूको घर र परिवालाई मैले खुशी पार्नु थियो। मेरा अबका दिनहरू उनीहरुकै निर्देशनमा बित्नेछ। करिब दुई घण्टाको यात्रा पछि शोभितको घर आईपुग्यो। बाहिर मानिसहरू पञ्चे बाजाको आवाजमा नाँचिरहेका थिए। भित्र मेरो जोडले मुटु थर्किरहेको थियो। नयाँ बेहुलीको स्वागतमा आगन्तुकहरु घरभरि छरिएका थिए। खकुरेल खानदानको घरभरी नाँचगान चलिरहेको थियो। सिंगारिएको र ठूलो बंगलादेखेपछि म आफू केही हदसम्म मनमनै गदगद भएँ। अब आउने दिनहरुमा म पनि यही बंगलाभित्रकी सदस्य हुनेवाला थिएँ। एउटा नन्द, श्रीमान् अनि सासु ससुराको सानो परिवार थियो । ठ्याक्कै मैले खोजे जस्तै।
मेरो श्रीमान अर्थात् शोभित ईन्जिनियर थियो। नन्द स्कूलमा पढाउँथिन्। सबै राम्रै थियो। घरभरीमा ससुरा मेरो विशेष ख्याल राख्नुहुन्थ्यो। शोभित धेरैजसो काममै व्यस्त रहन्थ्यो। उसको र मेरो भेट मुस्किलले बेलुका हुन्थ्यो। त्यो पनि उसको परिवारसँग बाँडेर बचेको समय उसले मेरो लागि दिन्थ्यो। तै पनि मलाई केही गुनासो थिएन। किनकि, मलाई थाहा थियो ऊ मलाई माया गर्छ।
विवाह भएको दुई महिनापछि मेरो सासु र ससुरा एक हप्ताको लागि सानीमा सासुको घर पोखरा जानुभयो। ससुराले जानु अगाडि कोमल स्वरमा भन्नुभयो, ‘शोभा घरको र आफ्नो राम्रो ख्याल राख्नू,’ शोभित बुवा र आमालाई छोड्न विमानस्थलसम्म गयो।
विवाहपछि मेरो जीवन पूरै घरमै बित्न थाल्यो। कहिले कता कहिले कता घरको कुना काप्चा सफा गर्दागर्दै दिन बितेको पत्तै हुँदैंनथ्यो। शोभित सधैं घर आउँदा अन्धकार भईसकेको हुन्थ्यो। आजभोलि गर्दागर्दै सासु ससुरा पोखराबाट फर्किने दिन पनि आयो।
सासु ससुरा एक हप्ताको पोखरा यात्रा सकेर घर आउने दिन म सबै काम सकेर एक्लै बसेर किताव पढ्दै थिएँ। अचानक कसैले ढोकाको घण्टी बजायो। ढोका खोलेँ, शोभित रहेछ। म अचम्ममा परेँ, कहिले उज्यालोमा घर नआउने शोभित त्यसदिन २ बजे नै घर आयो। फेरि शुक्रबार पनि हैन कतै बिसञ्चो त भएन? ‘आज किन छिट्टै घर आयौं, तिमीलाई ठिकै त छ नि,’ ऊ केही नबोली आफ्नो कोठातिर गयो।
म उसका लागि चिया, खाजा बनाउन किचनतिर गएँ। निकैबेर भईसक्दा पनि शोभित कोठाबाट निस्केन। मैले धेरैपटक ढोका ढकढकाएँ। शोभितले बल्लतल्ल ढोका खोल्यो। उसका आँखा पूरै राता राता भएका थिए। लामो लामो सास फेर्दै मलाई घुरेर हेर्दै थियो। म झसंग भएँ। उसको हातमा लागूऔषधको प्याकेट थियो। मैले केही सोच्नै नपाई उसले ममाथि आक्रमण गर्यो। मेरो ईच्छाबिना उसले मलाई लुछिरह्यो, म कराईरहेँ, रोईरहेँ, चिच्याईरहेँ। तर मेरो आवाज त्यही भित्ता र ढोकाले बाहेक कसैले सुनेनन्। ‘ठ्याक्क ठ्याक’ त्यसैबेला कसैले ढोका ढक्ढकायो। ममा अलिअलि साहस उत्पन्न भयो। दौडिदै गएर ढोका खोलेँ। मेरो लुगा चारैतिर च्यातिएको थियो। आँखाभरी आँशु र मुखभरी डाम थियो जसलाई मैले चाहेर पनि लुकाउन सकिनँ।
ढोकामा मेरो सासु र ससुरा टक्क उभिनुभएको थियो। ‘के भयो शोभा तिमीलाई? के गति बनाएको यस्तो?,’ ससुरा र सासुको एकैपटक तेर्सिएको प्रश्नले म झसंग भएँ। सत्य कुरा भनूँ कि नभनूँ भनेर सोच्दा सोच्दै मैले रोएर सबै घटनाको बेलिबिस्तार लगाएँ। मेरो कुरा सकिन नपाउँदै सासुको हात मेरो गालामा बजारियो। ‘तेरो यत्रो हिम्मत! मेरो छोरालाई यस्तो दोष लगाउने?,’ मैले एक शब्द पनि बोल्ने हिम्मत गर्न सकिनँ।
त्यसपछिका मेरा दिनहरु निकै कष्टकर हुँदै गए। म पटकपटक आफ्नै श्रीमानबाट बलात्कृत भईरहेँ। न मसँग सासु बोल्नु हुन्थ्यो न त नन्द नै। मैले आफ्नो बुवाआमालाई सत्य भन्न पनि सकिनँ। जुन सत्य मेरै मनले स्वीकार्न सकेन, त्यो सत्य उहाँहरुलाई कसरी भन्न सक्थेँ र म। शोभितको अवस्था झन् झन् नाजुक हुँदै गईरहेको थियो।
त्यो घरमा ससुरा नै एक जना त्यस्तो व्यक्ति हुनुहुन्थ्यो जो मेरो ख्याल राख्नुहुन्थ्यो। लुकी लुकी मेरो हालखबर सोध्नुहुन्थ्यो। सासु र नन्दले त मलाई हेर्नसमेत छोड्नुभएको थियो।
एकदिन काम गर्दागर्दै म ढलेँ। अस्पताल गएर जाँचेपछि मात्रै थाहा भयो कि मेरो पेटमा शोभितको बच्चा रहेछ। त्यहीँ रातको निशानी, त्यही डरलाग्दो क्षणको परिणाम। सोचेँ, जब घरमा मेरो ख्याल राख्ने कोही छैन भने मैले यो खबर उहाँहरुलाई दिन जरूरि पनि छैन। म यो बच्चालाई गर्भपतन गराईदिन्छु। फेरि सोचेँ, कतै यो पेटको बच्चाले मेरो जीवनमा रंग ल्याउँछ कि। तर अह! त्यस्तो केही भएन। मेरो कुराले ससुरा बाहेक कसैको आँखामा खुशी देखिएन। उल्टै ममाथि आरोप लाग्यो। ‘थाहा छैन कसको पाप पेटमा पालेकी छे यसले,’ सासुको तिखो बचनले मेरो मुटु छियाछिया भयो। न त शोभितले नै अपनायो पेटभित्र भएको मेरो बच्चालाई। एक जना ससुरामात्रै त्यो घरमा मेरो पक्षमा बोल्नुभयो त्यसदिन। तर तीन जानाको एउटै आवाज भएको घरमा मेरो र ससुराको कुरा सुन्ने कोही भएन।
मलाई त्यो घरमा बस्न पनि सकस भईरहेको थियो। माईती जाउँ कि जस्तो लाग्यो। तर बुवाआमाकहाँ गएर पनि म के जवाफ दिन्थे र? त्यसैले ससुरासँग बिदा मागेर घरका अरू कसैलाई केही नभनी म पेटभित्र भएको मेरो बच्चासँगै निस्केँ। ससुराले चाहेर पनि मलाई रोक्न सक्नुभएन।
बैंकको आफ्नो खातामा विवाहको र बुवाआमाले दिनुभएको पैसा जम्मा गरेर १० लाख जति भएको रहेछ। म फ्ल्याट लिएर एक्लै बस्न थालेँ।
धन्न देउता जस्ता घरबेटी भेटेकी थिएँ श्रीमान र श्रीमती। मलाई उनीहरुले धेरै नै साथ दिए। बरू आफ्नो ठानेकाले साथ दिएनन् तर केही समय अघि मात्रै चिनजान भएको उनीहरुले मलाई छोरी जस्तै व्यवहार गर्थें।
समय बित्दै गयो । मैले अस्पतालमा छोरीलाई जन्म दिएँ। मलाई र मेरी छोरीलाई हेर्न घरबाट ससुराबाहेक कोही आएनन्। म सोच्थेँ, ‘ढुंगाको मन भएका ती निदृयी परिवारमा यिनी एउटा भगवान् कहाँबाट आईपुगे होलान्?’ मेरो आमा बुवाले छोरी जन्मेपछि माईतीमै बस्न धेरै अनुरोध गर्नभयो तर म गईनँ। मलाई कसैमाथि बोझ बन्नु थिएन मलाई।
ससुराले त धेरै नै कर गर्नुभयो मलाई शोभितसँग मिलेर बस्न। तर, जोसँग जिन्दगी बिताउने सपना देखेर त्यस घरमा गएकी थिएँ उसले त वास्ता गरेन भने अरूको अनुरोध र दबाबमा म कसरी र किन जानू? त्यसैले ६ वर्षदेखि यही फ्ल्याटमा मेरो जीवन सिमित छ। अनि साथमा छे छोरी जसले मेरो सारा पीडा बिर्साईदिन्छे।
***
‘भन्स्यो न मामु मेरो बाबा कहिले आईसिन्छ?,’ छोरीको निरन्तर आईरहेको प्रश्नले म झसङ्ग भएँ। म कसरी भन्न सक्थेँ उसलाई उसको बाबा एउटा बलात्कारी हो, लागूपदार्थ प्रयोगकर्ता हो भनेर। म आकृतिको कुराले निःशब्द रहेँ। उसलाई दिनको लागि मसँग कुनै जवाफ भएन।