किम जोङ उन ‘जीवितै,’ २० दिनपछि भए सार्वजनिक

बिएल संवाददाता

न्युयाेर्क- अमेरिका

उत्तर कोरियाका नेता किम जोङ उन सार्वजनिक रुपमा देखिएका छन्। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा देखिएका हुन्।

उत्तर कोरियाली समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) अनुसार नेता किमले रासायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्।

नेता किम प्योङ्याङको उत्तरमा रहेको उद्योग उद्घाटनमा सहभागी भएका हुन्। उनीसँगै बहिनी किम यो जोङ र शीर्ष नेताहरुको सहभागिता थियो। नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसीएनएले उल्लेख गरेको छ।

समाचार एजेन्सी केसीएनएले नेता किमले उद्योग उद्घाटन गर्ने क्रममा रिबन काट्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको छ। तर, सरकारी समाचार एजेन्सीको यो दाबी तथा उसले सार्वजनिक गरेको तस्बिरको स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको छैन।

नेता किम अप्रिल १२ यता पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएको ठानिएको छ। 

 अप्रिल १५ मा हजुरबुवा (उत्तर कोरियाका संस्थापक) किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उनी उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका थिए। नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका थिएनन्।

त्यसयता किमको स्वास्थ्य अवस्थालाई लिएर पुष्टि नभएका विभिन्न खबर आइरहेकै छन्। कतिले उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्नेसम्म दाबी गरेका छन्।

दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो। सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सोमबार किमको अवस्थाबारे आफूलाई स्पष्ट जानकारी रहेको तर त्यसबारे नबताउने भनेका थिए। ट्रम्पले उनका लागि कामना भने गर्ने बताएका थिए।

यता फक्स न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी विदेश मन्त्री पोम्पेओले बुधबार उत्तर कोरियाका नेता किमबारे भनेका थिए, ‘हामीले उनलाई देखेका छैनौँ, आजको दिनसम्म उनीबारे हामीसँग कुनै जानकारी छैन। हामीले नजिकबाट नियालिरहेका छौँ।’

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी किम परिवारका तेस्रो पुस्ताका शासक हुन्।

प्रकाशित मिति: : 2020-05-02 06:29:57

प्रतिकृया दिनुहोस्