पथरी-काठमाडौं मैत्री समाजद्वारा पूर्वी मोरङका विभिन्न पालिकाका स्वास्थ्य संस्थामा पीपीई वितरण

पथरी-काठमाडौं मैत्री समाजले मोरङका विभिन्न पालिकामा कार्यरत स्वास्थ्यकर्मीका लागि पीपीई वितरण गरेको छ।

कोभिड १९ को महामारीमा पथरी-काठमाडौ मैत्री समाजले पूर्वी मोरङका विभिन्न पालिकामा रहेका स्वास्थ्य चौकी तथा अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीलाई अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको हो ।

समाजका संस्थापक संयोजक टीका गौतमको पहलमा अमेरिका नेपाल चिकित्सा प्रतिष्ठानले उपलब्ध गराएको पीपीई बुधबार र बिहीबार गरेर पथरीशनिचरे नगरपालिका, रतुवामाई नगरपालिका, मिक्लाजुङ गाउँपालिका, उर्लाबारी नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका र सुन्दर हरैचा नगरपालिकामा वितरण गरिएको समाजका सचिव अशोक खनालले बताए ।

सामान उपलब्ध गराएर समन्वय गर्न अवसर दिएकोमा अमेरिका नेपाल चिकित्सा प्रतिष्ठान र अध्यक्ष डा. भुपेन्द्र कुमार बस्नेतलगायत सो अभियानमा सहयोग पुर्‍याउने जनप्रतिनिधिलाई समाजका संस्थापक संयोजक टीका गौतमले धन्यवाद दिए।

समाजको संस्थापक संयोजक गौतमको नेतृत्वमा वर्तमान अध्यक्ष लक्ष्मीप्रसाद कोइराला, उपाध्यक्ष विकास घिमिरे, सचिव अशोक खनाल र सल्लाहकार सदस्य यज्ञ प्रसाद चौलागाईंको टोलीले उक्त सामाग्री पालिकामै पुगेर हस्तान्तरण गरेको हो। सामाग्री हस्तान्तरण पछि यस विषम परिस्थितिमा समाजको तर्फबाट थोरै भए पनि सहयोग पुर्‍याउन पाउँदा सन्तुष्ट भएको अध्यक्ष लक्ष्मी प्रसाद कोइरालाले बताए।

समाजले केही दिन अघिमात्रै कोभिड १९ कै माहामारीमा काठमाडौंमा अलपत्र परेका पथरी शनिश्चरे नगरबासीलाई नगरपालिकाको समन्वयमा गाडी रिजर्भ गरेर १७० जनाको हाराहारीमा गृह नगर पठाएको समेत अध्यक्ष कोइरालाले बताए ।

सबै पालिकाका प्रमुख, उपप्रमुखलगायत स्वास्थकर्मीले यस्तो विषम परिस्थितिमा महत्त्वपूर्ण सामाग्री उपलब्ध गराएकोमा पथरी काठमाडौ मैत्री समाज र सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2020-05-01 21:05:46

प्रतिकृया दिनुहोस्