नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध राष्ट्रिय मानव अधिकार आयोगमा मुद्दाको ह्याट्रिक पुगेको छ। समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले विहीबार अपहरणको मुद्दा दर्ता गरेपछि उनीविरूद्ध मुद्दाको ह्याट्रिक पूरा भएको हो।
यसअघि उनीविरूद्ध प्रतिबन्धित नेकपा माओवादी चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेल र ‘गुन्डा नाइके’ भनिएका कुमार घैंटेको इन्काउन्टरसम्बन्धी घटनामा प्रहरीले अनुसन्धान गर्न नमानेपछि राष्ट्रिय मानव अधिकार आयोगमा मुद्दा दर्ता गरिएका थिए। ती दुबै मुद्दा उनी वहालवाला प्रहरी महानिरीक्षक भएको बेला दर्ता गरिएका हुन् भने डा. यादव अपहरणसम्वन्धी मुद्दा भने उनी अवकाश भएपछि दर्ता भएको हो।
प्रहरीले हरेकपट उनीविरूद्ध मुद्दा लिन नमानेपछि राष्ट्रिय मानव अधिकार आयोगमा मुद्दा दर्ता गर्ने वाध्यता सिर्जना हुँदै आएको छ। वहालवाला महानिरीक्षक हुँदा मात्र हैन, अवकाश पाइसक्दा पनि उनीविरूद्धको मुद्दा प्रहरीले दर्ता नगर्दा पीडितले राष्ट्रिय मानव अधिकार आयोगको ढोका ढकढकाउन पुग्नु विडम्बनापूर्ण मानिएको छ।
पछिल्लो मुद्दा भने उनीविरूद्ध मात्र दर्ता गरिएको छैन, यसमा सत्तारूढ दल नेकपामा प्रधानमन्त्री ओलीनिकट मानिने सांसदद्वय महेश बस्नेत (भक्तपुर) र कृष्णकुमार श्रेष्ठ (तनहु) पनि संलग्न गरिएको छ।
पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध भ्रष्टाचारसम्बन्धी मु्द्दा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा अनुसन्धानकै क्रममा रहेको बताइन्छ।
आयोगकी सदस्य मोहना अन्सारीले पूर्वप्रहरी महानिरीक्षकविरूद्ध तीनवटा मुद्दा परेको पुष्टी गरिन्। उनका अनुसार २०७६ असार ५ मा सर्लाहीको लखन्तीमा कुमार पौडेललाई गोली हानी हत्या गर्न आदेश दिने तत्कालिन प्रहरी प्रमुख रहेका खनाललाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आयोगले निर्देशन दिएकोमा अहिलेसम्म पनि कारबाही भएको छैन।
त्यसैगरी २०७२ भदौ २ मा डन कुमार घैंटेको सामाखुसीमा नक्कली इन्काउन्टर गरिएको अर्को मुद्दा पनि आयोगमै विचाराधीन रहेको छ। त्यो इन्काउन्टरमा खनाल नै प्रत्यक्षरूपमा संलग्न थिए।
अघिल्ला यी दुबै मुद्दा पनि प्रहरीले दर्ता गर्न नमानेपछि राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएका थिए।
पूर्वमहानिरीक्षक खनालविरूद्ध भ्रष्टाचारसम्बन्धी मु्द्दा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा अनुसन्धानकै क्रममा रहेको बताइन्छ।