उहिले उहिले जेठाजु देख्दा टाउको छोपेर हिँड्ने बुहारीझैं छोपिएको थियो मखलरले मुख र टाउको। एकजोर आँखा छाइरहेका थिए बाटोमा। त्यो दिन उनी अलि खिन्न मुद्रामा देखिन्थे। यसरी खिन्न मुद्रामा देखिनुको कारण रहेछ खासै माछा नपाउनु।
सर्लाहीका पुनित सहनीलाई सैपालको आँगनहुँदै बग्दै आएकी डोटीस्थित सेती नदीमा माछा मार्न थालेको डेड दशक नाघिसक्यो। कोरोनाको सन्त्रासले विश्व डगमगाइरहेको हालको परिवेशमा उनी निर्धक्कसँग हिँड्छन् सेती किनारमा जाल बोकेर। बानेडुग्रीसैनदेखि दिपायलसम्म पुग्थे उनी माछा मार्नलाई। तर लगडाउनले गर्दा उनको व्यवसाय पनि मारमा परेको छ। बसमा तलमाथि गर्दै लामो दूरीसम्म पुग्थे माछा मार्नलाई।
प्रायः दिनको आठ दस किलो माछा मारेकै हुन्थे। त्यो भनेको दैनिक तीन हजार हजार कमाइ हुनु हो। विगतका जस्ता पाइँदैनन् अचेल माछा। टाढा जान नसके पछि हिजो आज कहिलेकाहीँ त आधा/एक केजी मात्र हुन्छ। कहिले रित्तै पनि फर्किनुपर्छ।
उनले त्यहीँ सेतीमा माछा मारेर एउटा छोरा र एउटी छोरीको बिहे गरे। समयसमयमा केही पैसा बुवालाई दिए। त्यहीँ पैसाले अलिकति जमिन पनि किने बुवाले। चार लाख असी हजार रूपैया त छोरीलाई बिहेमा दाइजो मात्रै दिएछन्। कालो अक्षर भैंसी बराबर भनेझैं उनी पढ्न लेख्न केही जान्दैनन्। तर सजिलैसँग चिन्दछन् रूपैया। ‘पढ्न नजान्ने मान्छे कसरी चिन्नुहुन्छ रूपयाँ,’ मैले उनीसामू प्रश्न तेर्स्याएँ, ‘पढेलेखेको मान्छे मात्र कहाँ, नपढेको मान्छे पनि चालाख हुनसक्छ। पैसा किन गिन्न आउँदैन हामीलाई। पैसामा लेखेको कुरा पो पढ्न आउँदैन, त्यो नोट कतिको हो म चिनिहाल्छु नि ।’ उमेर सोद्धा उनी सुनाउँछन् – ‘त्यस्तै ४४ -४५ जति भयो कि। चिना हेर्नुपर्छ। मलाई ठ्याक्कै थाहाँ छैन।’
जन्मदेखि कान सुनेनन् उनले। बुवाले उपचारमा धेरै पैसा खर्च गरेछन्। बीसको उन्नाइस नभएपछि भनेछन् – ‘एउटा मात्रै छोरो, कान सुन्दैन खै के स्कुल पठाउँ।’ पठाएनन् उनलाई बुवाले पढ्न। बरू १४ वर्षकै उमेरमा केटी खोजेर गरिदिएछन् बिहे। बिहे भएको केही दिनपछि घरमा बुवासँग लुकेर गाउँकै साथी रामनाथको पछि लागेर दमौली रूटमा पुगे उनी। बागमतीमा सानैदेखि पौडी खेलेका पुनितलाई माछा मार्ने कला सिकाए तिनै रामनाथले।
बिस्तार बिस्तारै जाल खेल्न थाले पुनित। १५ वर्षको उमेरमा एकाएक खुले कान। सुन्न सक्ने भए उनी। केही महिनापछि पुगे स्याङ्जा वालिङतिर। आँधिखोलामा मार्न थाले माछा। साना भए पनि प्रसस्त पाइन्थे आँधीखोलामा माछा। ‘दमौलीतिर माछा मारेर कमाएको पैसाले घरमा सबैको लागि कपडा किनेर लगेँ। पहिलो पटकको कमाइले परिवारलाई लुगाकपडाका साथै केही पैसा पनि बचाएँ। त्यो खुसी छुट्टै थियो। वालिङतिर काम गर्दा महिनाको १५०० बचाउँदा गजब भैहाल्थ्यो,’ आफ्नो विगत सुनाए उनले।
उनी १६ वर्षका हुँदा जन्मेकी हुन् जेठी छोरी। ती छोरी कति वर्षकी भइन् थाहा छैन उनलाई। छोरी पछिको छोरा १८ वर्षको भयो भन्छन् उनी। हाम्रो समाजमा छोराप्रतिको मोह कति छ यसैबाट प्रष्ट थाहा पाउन सकिन्छ। ‘दोस्रो छोराको बाटो कुर्दाकुर्दा तीन छोरी जन्मे, बल्ल पाएँ दोस्रो छोरा,’ लामो सास तान्दै सुनाए उनले। ‘किन चहिएको थियो तेस्रो बच्चा?’– बीचैमा प्रश्न गरेँ मैले।
‘आमाले भन्छ कहाँ त्यस्तो हुन्छ, एउटा छोराको के भर? आमाले नै बुढीलाई सिकायो। बुढी नमान्ने भयो। के गर्ने भाग्यमा यस्तै थियो’– खिन्नता प्रकट गर्दै सुनाए उनले।
तीन छोरीको बिहे गर्न बाँकी छ। चौध पन्ध्र लाख जति त तिनलाई दाइजो दिन मात्रै कमाउनुपर्नेछ उनले। बिहेमा लाग्ने अरू खर्च छँदैछ। छोराले एसएलसी पास गरेर पढ्न छोडिदिएछ। उसो त कमै कमाइ हुँदा पनि महिनाको ३०-३५ हजार कमाएकै छन्। उहिले उहिले राम्रो कमाइ हुँदा महिनामा ५० हजारदेखि एक लाखसम्म कमाएको कुरा सुनाउँछन् उनी।
ज्यानको बाजी थापेर कमाइएको पैसा हो त्यो। पानीसँग जिस्किनु पर्ने जोखिमपूर्ण यात्रा हो जिन्दगीको। तराईबाट माछा मार्न आएका नारायण नामका अर्का थिए एक जना। केही वर्ष अघि सेतीका छालले उनलाई कहाँ पुर्यायो पत्तै पाइएन। उनी हराएको केही महिना पछि मात्र उनको जाल भेटिएछ नदी किनारमा।
सेतीका किनारमा यात्रा गर्न थालेको दशक बितिसक्यो पुनितको पनि। वालिङतिर माछा मार्ने क्रममा स्टोभ, प्रेसर कुकर आदि बनाउने एक जना मान्छे भेटिए। जो सुदूरपश्चिमको डोटी पुगेर फर्किएका थिए। तिनले सेतीका माछाको स्वाद लिएर फर्केका थिए। तिनैले सुनाइ दिए सेतीमा थुप्रै माछा भएको कुरा। यति सुनेपछि हानिए उनी डोटी दिपायलतिर। रमेशदीप होटलको शाहुले बस्न ठाउँ दिए। २ महिना त्यतै बसे। त्यो बेला सम्झेर उनी सुनाउछन्, ‘ऊ राम्रो मान्छे थियो। कोठा भाडा पनि खासै लिएन। कहिले काही म आफैं माछा दिन्थेँ खानलाई। त्यतिबेला ४५ रूपैया किलो माछा बेचेँ। नदीमा जाल लिएर एक दुई घन्टा खेल्दा पुग्थ्यो। प्रसस्त थिए सेतीमा माछा। एक दुई केजीको भन्दा सानो माछा किन्न मान्दैन थिए कसैले। पछि एक वर्षसम्म जति माछा मारे पनि किनिदिन्थ्यो वैजनाथको शाहुले।’
दिपायल छोडे पछि उनी ४-५ वर्ष जति लुहाखडीमा डेरा लिएर बसे। त्यो समयमा केटाहरु पासा थापेर मार्थे माछा। नदी छेउको बस्तीवाला प्रायले पासा थाप्थे सेतीमा। सबैले मारिरहेकै हुन्थे भारीका भारी माछा। दिपायलदेखि कोरालखोलासम्म कसैले किन्दैन थिए। सिलगढी, डडेल्धुरा पुर्याउनु पथ्र्यो बेच्नलाई। बिस्तारै उनले डेरा सारे। उनी बस्न थाले गोपघाटमा। बीचमा उनी एकाएक हानिए मलेशिया। ‘मलेसिया बस्दा कमाएको पैसाले घर बनाए सर्लाही बरथहवामा। निखिल उप्रतीकै क्षेत्र हो मेरो,’ फुर्तिका साथ सुनाउँछन् उनी।
पाँच वर्ष मलेसिया बस्दा पनि उनले बिर्सन सकेनन् सेतीका छाल, ती स्वादिला माछा अनि माछा मार्ने जाल। त्यसैले त मलेशियाबाट फर्किएपछि सकेनन् घरमा बस्न। पुनः हिँडे डोटीतिरै। जहाँका मान्छे, भाषा सबैसँग परिचित भइसकेका छन् उनी। सेतीको किनारमा डुल्दै, सेतीका छालसँग खेल्दै बिताए जिन्दगीका कैयौ वसन्त। ‘बुवाले सुरूदेखि माछा मार्न नजाऊ भन्छ, तर मलाई मनै पर्दैन खेतीपातीको काम,’ त्यहीँ सेतीतिर नजर डुलाउँदै सुनाएका हुन् उनले।
घाम अस्ताउन थाल्दा प्रायः जसो आधा/एक घन्टा जाल खेल्छन् उनी। त्यतिबेला मारेको माछा दिँदैनन् कसैलाई। आफैं बनाएर खान्छन्। खाना खाएर आराम गर्छन् चार पाँच घन्टा। राति दुई तीन बजेतिर उठेर हातमा जाल र प्लास्टिकको डिब्बा बोकेर हिँड्छन्। साथमा हुन्छन् उनका भाइ (उनकी ठुलीआमाका छोरा) कुमर सहनी। दुई भाइ सेतीको किनारै किनार हिँड्छन् जाल खेल्दै। बिहान छर्लङ्ग उज्यालो हुन्जेलसम्म हिँडिसकेका हुन्छन् चार/पाँच किलो मिटर। पौडी खेल्दै घरि पारि, घरि वारि सेतीका छालसँग खेलिरहेकै हुन्छन् पौठेजोरी।
मसानघाटतिर माछा पाइने हुँदा प्रायः मसानघाटतिरै पुग्छन्। उसो त सेती किनारमा ठाउँठाउँमा नजिक नजिकै देखिन्छन् मसानघाटहरू। जहाँ ‘राति हिँड्नु हुँदैन् तर्साउँछ’ भन्ने मान्यता छँदैछ गाउँघरतिर। यो भनाइमा सहमत हुँदै सुनाउँछन् पुनित, ‘हो तर्साउँछ हजुर कहिलेकाँही। एउटा पराचित भन्छ न, सेतोसेतो कपडा लगाएर आउँछ। तुरुन्तै लामो लामो पनि भैहाल्छ। हाम्रो अघिअघि गएर जाल खेलिदिन्छ। हामी उसलाई खेल्न छोडिदिन्छौं र यताको देवताको र हाम्रो आफ्नो देवताको नाम लिएर किनारमा थपक्क बसिदिन्छौं, मलाई नकेही होस् भनेर। जाल साथमा भएपछि हतपत्त आउँदैन पनि।’
कैयौंपल्ट जाल खेल्दैगर्दा एकाएक उर्लेर आइदिन्छ नदी। उनी सुनाउँछन् विगतको अनुभव, ‘दुई पटक राति दुई बजे पौडी खेलेर एउटा नाला पार गरी बीचको टापुमा पुग्दा नदी बढ्यो। चार घन्टा त्यतै बसेँ। बिहान उज्यालो भएपछि मान्छेको आवत जावत बढ्न थाल्यो। पानीको बहाव पनि अलि कम हुन थाल्यो तब आएँ पौडी खेलेर बल्लतल्ल वारि।’
सेतीका माछा साह्रै मीठा छन् भन्छन्। आफू खान्छन् अरुलाई खुवाउछन्। तर लग्न पाउँदैनन् प्रत्येक पल्ट घरजाँदा। घर जाँदा कहिलेकाही डरैडरले आधा/एक केजी बेर्छन् कपडामा सुकाएका माछा र घर पुर्याउँछन् बसको सिटमुनि लुकाएर। ‘बर्दिया राष्ट्रिय निकुञ्जमा आर्मीले भेटायो भने लग्न दिँदैन। के गर्नू अर्को बाटो छैन्। जंगलबाट चोरेर जाउँ भने पनि बाघ भालु छन्,’ दुखेसो पोख्छन् उनी। सट्टो माछा भेटाउँदा सम्झिन्छन् घरपरिवारलाई। यतिका वर्षसम्म जाल खेल्दा एकपल्ट २२ किलोको सट्टो मारेछन् ठूलो माछाको नाममा। पाँच/सात किलोका त कति मारे कति।
श्रावणमा माछा पाइँदैनन्। त्यसैले उनी एक महिना घरतिरै बस्छन्। श्रावण, पुस र माघ गरी वर्षमा तीन महिना खेर जाने कुरा सुनाए उनले। ‘पुस-माघ किन नि?’ – मैले जिज्ञाशा व्यक्त गरे। ‘दुई महिना ज्यान जोगाउनु परेन। पैसा मात्रै कमाएर के गर्नू। घरमा त त्यस्तो चिसो हुन्छ, घाटमा कहाँ जान सकिन्छ,’ कारण बताए उनले। ‘ज्यानको त्यति माया भएको मान्छे, कोरोनाको डर लाग्दैन? किन यो लकडाउनको बेला माछा बेच्दै हिँडेको?,’ अलि कड्केर सोधेँ।
‘हिमालबाट बग्दै आएकी पवित्र नदीमा रोग हुँदैन। हामी कति दिन बसेर खाने? बसेर खायो भने काँ’बाट ल्याउने। घर त छैन मेरो यहाँ। अब घर जान पनि सकिँदैन। ८ वर्षको छोराले फोन गरिरहन्छन् कहिले आउने भनेर। यतिबेला कसको मन छ र रातभर नसुतेर माछा मार्नलाई,’ हाइकाट्दै बोले उनी।
हाम्रो वार्तालाप सुनिरहेकी देउसरा बोलिन्, ‘गोसाई सबै सरकारको मानो खाने, ठेकापट्टा अद्दे, नेतागिरी अद्दे काँ छन् रे। गरिवले त रोगव्याध सबै नधेके नसुणे जसेरी हिँट्टु छ यै देशमाई।