जमिन बाँझो नराख्न कृषि मन्त्रालयकाे आग्रह

बिएल संवाददाता

काठमाडाै‌ं

कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जमिन बाँझो नराख्न पुनः आग्रह गरेको छ। लम्बिँदै गएको लकडाउन र भत्किँदो अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्थाले खाद्य असुरक्षाको अवस्था आउनसक्ने भन्दै मन्त्रालयले कृषक, उद्योगी, स्थानीय तह र स्थानीय प्रशासनहरूलाई सहजीकरण बढाउन अनुरोध गरेको छ।

मन्त्रालयले जारी गरेको १० बुँदे निर्देशनमा सामाजिक दुरी कायम गर्दै कृषि र यससँग सम्बन्धित सबै कर्म नियमित राख्न गर्न कृषकलाई आह्वान गरिएको छ।  ‘मौसमी खेती, अन्नबाली भित्र्याउने र तिनको भण्डारण तथा बजारीकरणका लागि सबै उपाय अपनाएर काम गर्नू,’ निर्देशनमा भनिएको छ।

यस्तै मन्त्रालयले कृषि फसल बिक्रीवितरण गर्ने पसल बन्द नगर्न  भनिएको छ। 

‘कृषि र पशुपालन लगायतका कर्मसँग सम्बन्धित दाना, बिउ, मलखाद जस्ता वस्तु र कृषि उपजको ढुवानी तथा बजारीकरण निरन्तर गर्न तथा यसमा कुनै अवरोध सिर्जना नगर्न पनि स्थानीय प्रशासनलाई आग्रह गर्दछौं,’ मन्त्रालयले भनेको छ।

कृषि कर्म जारी राख्दा संक्रमणको जोखिम न्यूनीकरणका लागि सुरक्षाका उपाय र सामाजिक दूरी कायम राख्न पनि मन्त्रालयले भनेको छ। 

प्रकाशित मिति: : 2020-04-29 14:46:37

प्रतिकृया दिनुहोस्