विश्व अहिले कोरोनाको संकटबाट लड्न लकडाउनको नीतिलाई अवलम्बन गरिरहेको छ। तर, यसैको फाइदा उठाउँदै केही कट्टरपन्थी संगठनहरू नयाँ योजनाको तयारीमा जुटेको संयुक्त राष्ट्र संघ(युएन) का महासचिव आन्टोनियो गुटारेसले बताएका छन्।
उनले यसबाट सावधान रहन विश्व समुदायसँग आग्रह पनि गरेका छन्। गुटारेसले संकटको अवस्थामा सरकारले लागु गरेको लकडाउनका कारण सर्वसाधारणको नीजि जीवनमा प्रभाव परेको र यसैको फाइदा उठाउँदै कट्टरपन्थी समूह सोशल मिडियामा अत्याधिक सक्रिय भएको र यो अवस्थाको फाइदा उठाउन गृहकार्यमा जुटेको तथ्य अगाडी सारेका छन्।
‘युवाहरूको ठूलो वर्ग पहिलेदेखि नै शिक्षा तथा रोजगारबाट बञ्चित छ। कोरोनाले थपेको संकट उनीहरूका लागि युवाहरूलाई आफूतर्फ आकर्षित गर्न ठूलो माध्यम बन्न सक्छ,’महासचिव गुटारेसले चेतावनी दिएका छन्। उनले वर्तमान अवस्थामा हरेक पाँच जनामध्ये एक युवा शिक्षा तथा रोजगारबाट बञ्चित रहेको तथ्यलाई पनि प्रस्तुत गरेका छन्।
कोरोना संक्रमणको त्रासका कारण विगत लामो समयदेखि लागु भएको लकडाउनका कारण थप युवाहरूले रोजगारी गुमाएका छन्।
उनले हरेक वर्ष १ करोड २० लाख उमेर नपुगेका युवती आमा बन्न थालेको तथ्यलाई पनि प्रस्तुत गरेका छन्। उनले यो तथ्यांक नै भविष्यमा बढ्न सक्ने आपराधिक कामको लागि पर्याप्त भएकोतर्फ इंकित गरे। उनले हरेक चार युवामा एक जना हिंसा र संघर्षबाट प्रभावित रहेको पनि बताए।
उनले विश्वभरिका देश यो समस्याबाट बाहिरिन प्रयत्नशील रहेको बताउँदै भने, ‘तर वास्तविकता यो पनि हो, सरकारहरू यो समस्यालाई सुल्झाउन असफल भएका छन्। यस्तो अवस्थामा कट्टरपन्थी समूहका लागि युवाहरूमा भएको चरम निरासा र रिसको फाइदा उठाउन सहज हुँदै गइरहेको छ।’
युएनको रिपोर्टअनुसार कोभिड–१९ का कारण लाखौं मानिस प्रभावित भएका छन्। सम्बन्धित देशका सरकारलाई महामारीको बेला युवाहरूको प्रतिभा भित्रै कहि कुन्ठित हुने त होइन, यसतर्फ पनि ध्यान दिन उनले आग्रह गरेका छन्। उनले यसका लागि संयुक्त प्रयास जरुरी रहेको बताएका छन्।
राष्ट्र संघको रिपोर्टमा १ दशमलव ५४ अर्बभन्दा बढी बच्चा र युवा कोभिड–१९ बाट प्रभावित भएको बताइएको छ। गुटारेसले कोभिड–१९ को रोकथामको अभियानमा युवाहरूको सहभागितालाई बढाउन सबै देशलाई सुझाव दिएका छन्। अहिले स्वास्थ्य क्षेत्रमा युवाहरूको सहभागिता अग्रपक्तिमा देखिन्छ।