स्पेनले जनजीवन ‘न्यू नर्मालिटी’ अर्थात नयाँ स्वरुपको सामान्यमा फकाउने योजना सार्वजनिक गरेको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले चार चरणमा लकडाउन खुकुलो बनाउने र आउँदो जुनको अन्त्यसम्म सामान्यमा फकाउने योजना सार्वजनिक गरेका हुन्।
यो योजना अनुसार देशका हरेक क्षेत्रमा भिन्दा भिन्दै स्वरुपमा लकडाउन खुकुलो पार्दै लगिने छ। कोरोना भाइरस महामारीको अवस्था अनुसार क्षेत्रहरुमा लकडाउनको अवस्था कस्तो हुने निर्धारण गरिने उनले उल्लेख गरेका छन्।
चार चरण सुरु हुनु पूर्व मे ४–११ सम्म फेज जिरो कायम रहने छ, जसमा अनुमति लिएर सैलुन तथा अरु व्यवसायहरु खोल्न पाइने छ। मे ११ देखि सामाजिक दूरी कामय गरी साना व्यवसाय र होटलहरु खोल्न पाइने छ। केही विद्यालयहरु मे को अन्त्यमा खुले पनि अधिकांश विद्यालयहरु सेप्टेम्बरमा नयाँ शत्र सुरु हुने बेलासम्म बन्द हुने छन्।
मे को मध्ये देखि रेस्टुरेन्टहरु ३० प्रतिशत क्षमतामा खुल्न पाउने छन्। यस्तै मे ११ देखि भवनको क्षमताको एक तिहाई मानिसको उपस्थिति हुने गरी धार्मिक गतिविधि गर्न पाइने छ। मे को अन्त्यदेखि खुला हुने चलचित्र हलका लागि पनि एक तिहाइ मात्रै क्षमताको नियम लागु हुनेछ।
जुनको अन्त्यसम्ममा पसलहरु आधा क्षमतामा खुल्न पाउने छन् र ६ फिटको दूरी कामय हुनु पर्ने छ। समुद्री किनारहरु जुनको अन्त्यतिर खुला हुने जनाइएको छ।
जनजीवन सामान्य अवस्थामा फर्किन ६ देखि ८ हप्ता लाग्ने अनुमान प्रधानमन्त्री सान्चेजले गरेका छन्। उनले भनेका छन्, ‘जुनको अन्त्यसम्ममा हामी न्यू नर्मालिटीमा प्रवेश गर्ने छौँ, यदी महामारी नियन्त्रणमै रह्यो भने।’
स्पेनमा मार्च १४ देखि कडा लकडाउन लागु भएको छ, जसका कारण मानिसहरु घरमै सीमित भएका छन्। स्पेनका चार आइल्याण्डमा आउँदो मे ४ देखि लकडाउन केही खुकुलो पार्ने छन् वा ती क्षेत्रमा लकडाउन खुलाउने पहिलो चरणको लागु हुनेछ। स्पेनका अरु क्षेत्रमा भने त्यसको एक हप्तापछि मात्रै लकडाउन खुकुलो पार्न थालिने छ।
संक्रमण तथा त्यसका कारण हुने मृत्यु घट्ने क्रम जारी रहेमा मे २ देखि वयश्कहरुलाई पनि घर बाहिर निस्कन दिइने छ। तर ६ हप्तासम्म घर बाहिर निस्कन नपाएका बालबालिकाहरुलाई आइतबारदेखि दिनको एक घण्टा नजिकैका क्षेत्रमा जान पाउने छुट दिइएको छ।
स्पेनले अप्रिल १३ देखि नै उत्पान तथा निर्माण क्षेत्रलाई काम गर्ने छुट दिएको थियो।
युरोपमा सबैभन्दा बढी प्रभावित मध्ये एक स्पेनमा कोरोना भाइरसको महामारी घट्दो क्रममा छ। हालसम्म २३ हजार ८२२ जनाको ज्यान गएको जोन हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले उल्लेख गरेको छ। यस्तै संक्रमितको संख्या स्पेनमा दुई लाख ३२ हजार भन्दा बढी पुगेको छ।
तर मंगलबार पनि ३०१ जनाको मृत्यु भयो। यस्तै मंगलबार १३ सय ८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।