नेपाल यतिबेला लकडाउनमा छ। सर्वसाधारण बाहिर निस्कन पाउँदैनन्। तर, राजनीतिक नेता र ठूलाबडाको लागि भने यो सबैभन्दा चलायमान समय भएको छ। त्यसमा पनि सत्तारूढ दलका लागि त यो पार्टी इतिहासमै सबैभन्दा चलायमान समयमध्येको एक भएको छ।
सत्तारूढ नेकपाभित्रको आन्तरिक शक्ति संघर्ष चुलीमा पुगेजस्तो देखिएको छ। एकातिर पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओली न्वारानदेखिको बल लगाएर आफ्नो सत्ता जोगाउन लागिपरेका छन् भने अर्कोेतिर उनी इतर पक्ष ओलीलाई खुइल्याउने बेला यही हो भनेर जोडबल लगाइरहेका छन्। दुबैतिरका दोस्रो तहका नेता आआफ्नो अनुकुलताका लागि भिडिरहेका छन्।
प्रधाममन्त्री ओली रक्षात्मक स्थितिमा छन्। समाजवादी दल तोड्न ल्याएको अध्यादेशले उनलाई पूरै ब्याकफायर गरेको छ। अध्यादेश फिर्ता लिदा पनि उनको संकट घट्ने हैन, बढैको बढै छ।फोड्न लागिएको पार्टी जोडिएर अरू मजबुत भएको छ। उल्टै प्रधाममन्त्रीमाथि सांसद अपहरण योजनाकारको आरोप लागेको छ। उजुरी दिन जाँदा दर्ता नगर्न प्रहरीलाई आदेश दिइएको अर्को आरोप थपिएको छ। त्यति मात्र रेडियो नेपालमा आएको डा. बाबुराम भट्टराईको अन्तर्वार्ताले अर्को बबाल मचाएको छ। त्यो अन्तर्वार्ता नै हटाउन र रेडियो नेपाललाई माफी माग्न लगाएको भनेर अर्को खाले समस्या थपिएको छ।
ओलीका प्रस्तावहरू एकपछि अर्को गरेर टुक्राइएका छन्। उनले नचाहेको पार्टी सचिवालयको वैठक बोलाइएको छ। र, सम्भवत: त्यो बैठकले ओलीको भविष्यमाथि निर्णय गर्नेछ। त्यो नगरे पनि स्थायी समितिको बैठक बोलाउने छ। हुन सक्छ, त्यो बैठकमा ओलीको राजीनामा मागिने छ र राजीनामा माग्ने पक्षको बहुमत भएकाले त्यो प्रस्ताव त्यहाँ पारित हुन सक्छ।
प्रधानमन्त्री ओली आफ्नो कुर्सी जोगाउन पटक पटक राष्ट्रपतिलाई भेट्नेदेखि प्रधानन्यायाधीशलाई समेत भेट्ने खालको अस्वभाविक चलखेल गरिरहेका छन्। यी चलखेलमार्फत उनी आफ्नो पार्टीको अर्को ध्रुवमा रहेका नेताहरूलाई दुईमध्ये एक सन्देश दिन खोजिरहेका छन्। या त उनी कमजोर खेलाडी हैनन्, चुप लागेर बसेका छैनन् र सजिलै बालुवाटारबाट बाल्कोट फर्कनेवाला छैनन् भन्ने सन्देश दिइरहेका छन्। या त उनी साँच्चै नै केही अनिष्टकै लागि तानाबाना बुनिरहेका छन्। यस बारेमा अहिले नै केही भन्न सकिन्न। तर, सरकार चलाउनकै लागि दुई-दुईपटक मिर्गौला फेरिसकेका ओली सजिलै बालुवाटार छोडेर बालकोट फर्केलान् भनेर अनुमान लगाउनु उनको स्वभावसँग मेल खादैन।
पार्टी च्यानलमा कमजोर भएपछि ओलीले अरू च्यानल खुल्ला गरेर आफू कमजोर खेलाडी नभएको संकेत गरेका छन्। राष्ट्रपति कार्यालय धाएको धायै गरेर राष्ट्रपति भण्डारी र चिनिया राष्ट्रपति सी बीच फोनवार्ता गराएका छन्। वार्तामा प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गरिएको समाचार बाहिर ल्याएका छन्।भलै यो कोरोना कहरसँग सम्बन्धित भनिए पनि यो ओलीका लागि उत्तर दाहिना छन् भन्ने देखाउन चालिएको सुविचारित कदम हो भन्ने अनुमान गर्न कुनै आइतबार पर्खनु पर्दैन। यसअघि राष्ट्रपति र चिनियाँ राजदूतबीच पनि प्रोटोकलले कतै नमिल्ने भेटवार्ता भएको थियो।
यसैबीच ओलीले प्रहरी प्रमुख ठाकुर ज्ञवालीलाई वालुवाटारमै बोलाएर भेटेका छन्। गृहमन्त्री रामबहादुर थापा 'वादल' लाई पूरै विश्वास नगरिसकिएको अवस्थामा उनले सिधै प्रहरी प्रमुख ज्ञवालीलाई बोलाएका हुन्। यो पनि स्वभाविक खालको पद्धतिसम्मत बोलावट मान्न सकिन्न।
त्यसपछि त झन प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीशसँगै भेटवार्ता गरेका छन्। जुन समय र परिस्थितिमा यो भेटघाट भएको छ, यो किमार्थ पनि स्वभाविक हैन।
प्रधानमन्त्री ओली यी अस्वभाविक चलखेलमार्फत आफ्नो पार्टीको अर्को ध्रुवमा रहेका नेताहरूलाई दुईमध्ये एक सन्देश दिन खोजिरहेका छन्। या त उनी कमजोर खेलाडी हैनन्, चुप लागेर बसेका छैनन् र सजिलै बालुवाटारबाट बाल्कोट फर्कनेवाला छैनन् भन्ने सन्देश दिइरहेका छन्। या त उनी साँच्चै नै केही अनिष्टकै लागि तानाबाना बुनिरहेका छन् । यस बारेमा अहिले नै केही भन्न सकिन्न। तर, सरकार चलाउनकै लागि दुई-दुईपटक मिर्गौला फेरिसकेका ओली सजिलै बालुवाटार छोडेर बालकोट फर्केलान् भनेर अनुमान लगाउनु उनको स्वभावसँग मेल खादैन।
सत्तारूढ नेकपामा वार कि पारको लडाईं हुन्छ वा यो टालटुले निर्णय ? त्यसका लागि भने अबको केही दिन पर्खनैपर्ने जस्तो देखिएको छ।
(यो लेखकको निजी विचार हो। यसमा ब्रेक एन लिंक्सको सम्पादकीय नीति प्रतिविम्वित हुन्छ भन्ने छैन: सम्पादक )