चर्को घाममा आएको बाढीले चितामा राखेको शव नै बगाएपछि...(भिडियो)

चर्को घाम लागेको बेला इलामको फाकफोकथुम-३ को फाकफोक खोलामा सोमबार आएको बाढीले जलाउन लागेको शव वेपत्ता बनाएको छ भने एकजना बालकको भेलले बगाएर मृत्यु भएको छ।

आइतबार मृत्यु भएका स्थानीय राम लकान्द्रीको शव जलाउन लाग्दा आएको भेलले चितानै बगाएपछि उनको शव बेपत्ता भएको थियो।

एक स्थानीयका अनुसार खोलाको माथिल्लो भेगमा बादल देखिए पनि चिता जलाउने ठाउँमा चर्को घाम लागेका थियो । हेर्दाहेर्दै चिता बेपत्ता भयो। स्थानीय जेष्ठ नागरिकले पनि यो पहिलो घटना भएको बताएका छन्।

फाकफोकथुम-३ का वडा अध्यक्ष राजु पौड्यालले लकान्द्रीको शव नभेटिएको बताए। लकान्द्रीको हिजो सुगुरलाई चारो खोज्न जाँदा लडेर मृत्यु भएको पौड्यालले बताए। 

त्यस्तै फाकफोक खोलाको बाढीले बगाएर सोमबार पौडी खेलिरहेका स्थानीय वीर बहादुर लिम्बुका छोरा १२ वर्षीय मनिष लिम्बुको मृत्यु भएको पौड्यालले बताए।

गर्मीमा माछा मार्न र पौडी खेल्न गएका ४ मध्ये बालक लिम्बुको शव मृत अवस्थामा फेला परेको उनले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-04-28 00:41:01

प्रतिकृया दिनुहोस्