रेडियाे नेपालले बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्ता हटायाे, प्रधानमन्त्री ओलीसँग मागियाे क्षमा

बिएल संवाददाता

काठमाडाै‌ं

रेडियो नेपालले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग लिइएकाे अन्तर्वार्ता हटाएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर विचर र अभिब्यक्ति दिइएकाे भन्दै अन्तर्वार्ता अनलाइन संस्करणबाट हटाएकाे हाे।

सोमबार बिहान ६ः३० बजे समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालले लिएको प्रत्यक्ष अन्तरसंवाद कार्यक्रममा अतिथिका रूपमा जनता समाजवादी पार्टीका नेता डा. भट्टराई उपस्थित थिए।

उक्त कार्यक्रममा डा. भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दुःखी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले निकालेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

सो कार्यक्रम लाइभ प्रशारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा मागेको पनि रेडियो नेपालले बताएको छ।

‘सो कार्यक्रम प्रत्यक्ष (लाइभ) प्रशारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौं। अब उप्रान्त रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरूमा अतिथि चयन गर्दा गम्भीर रूपमा सचेत रहने प्रतिवद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तीमा भनिएकाे छ।

प्रकाशित मिति: : 2020-04-27 17:30:13

प्रतिकृया दिनुहोस्