विश्वको सबैभन्दा बढी गहुँ निर्यात गर्ने मुलुक रूसले अन्नजन्य सामानको निर्यातलाई आगामी जुलाई १ गतेसम्म बन्द गर्ने निर्णय आइतबार सार्वजनिक गरेको छ।
रूसबाट निर्यात हुने गहुँ, मकै र जौजस्ता खाद्यान्न वालीको उत्पादनलाई देशबाहिर नपठाउने निर्णय भएको रूसी कृषि मन्त्रालयले जानकारी दिएको छ।
अप्रिलको शुरूमा रूसी सरकारले जुनको अन्त्यसम्मका लागि यहाँबाट निर्यात हुने खाद्यान्न वालीको हिस्सा छुट्टाएको थियो। उक्त निर्णय ‘पूर्णतया कार्यान्वयन’ हुनेछ।
निश्चित कोटा अन्तर्गत आपूर्ति हुने गहुँ, जौ, मकै तथा कोदोजस्ता अन्य खाद्यान्न उत्पादनलाई ‘यूरेसियन इकोनोमिक यूनियन’ बाहेकका मुलुकमा सन् २०२० को जुलाई १ सम्मका लागि रोक लगाइएको छ, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यूनियन समूह अन्तर्गत अर्मेनिया, बेलारूस, कजाकिस्तान, किर्र्गीजिस्तान र रूस पर्छन्।
सामानको आयात तथा निर्यातको अनुगमनकारी अन्तर्राष्ट्रिय संस्था विश्व व्यापार संगठनले खाद्यान्न उत्पादन आपूर्ति वा निर्यातमा रोक लगाउँदा विश्वव्यापी खाद्यान्न आपूर्ति प्रणालीमा प्रभाव पर्ने भन्दै यस प्रकारका रोक नलगाउन चेतावनी दिएको छ। विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वको खाद्यान्न बजारमा कमी हुने सङ्केतलाई देखाउँदै रूसलाई नियमित आपूर्तिका लागि अनुरोध गरिएको संगठनले जनाएको छ।
मस्कोले भने अन्तर्राष्ट्रिय बजारलाई स्थिर बनाउन वा प्रभावित नपार्ने गरी यस पहिले नै आपूर्तिको यथोचित भाग निर्धारण गरिएको जनाएको छ। मस्कोले आइतबारको विज्ञप्तिमा कोरोनाभाइरसको सन्दर्भलाई भने उल्लेख गरेको छैन।
कृषि वर्ष २०१८–२०१९ मा रूसले विश्व बजारमा तीन करोड ५० लाख टन गहुँ निर्यात गरेको थियो। मस्कोले उक्त एक वर्षको समयमा चार करोड ३० लाख तीन हजार टन खाद्यान्न उत्पादन निर्यात गरेको समाचार संस्था नोवोस्तीले जनाएको छ।