चुनौतीको आवाहन

टेक्ने धर्ती र ओढ्ने आकाशहुँदै

ढुङ्गे मुङ्ग्रे र गुफाबासी आदिम मानव

पेटमा हाल्ने अन्नको खोजिमा

गाँस् बास र कपास जुटाउन

मानवले गरेका तमाम संग्रामको

भिडेर आएका परिश्रमको

त्यो युग देखि

यो युगसम्म

छ प्रमाणको लेखा जोखा।

 

भोक शोक र महामारी रोगबाट

आईलाग्ने प्राकृतिक प्रकोपबाट

हिंस्रक जीव र जन्तुको छोपबाट

बचाएर राख्न मानव अस्तित्व

सभ्यता इतिहास र मूल्यकालागि

झरेका रगत पसिना र आसुको

त्यो युगदेखि

यो युगसम्म

छ प्रत्यक्ष प्रमाणको लेखा जोखा ।

 

आश्रय विहीन

स्वामित्व विहीन

भर भरोसा बिनानै

आफैंले भोगेका अनुभूतिहरु

आफैंले जोडेका अनुभवहरु

लड्दै मर्दै र पर्दै आर्जन गरेका

ज्ञान विज्ञान र विवेकको

त्यो युगदेखि

यो युग सम्म

छ प्रत्यक्ष प्रमाणको लेखा जोखा।

 

हो आज संकटमा छ मान्छे

महामारीको चपेटामा

तर यो नौलो पटक्कै हैन

मान्छेले नउक्लेको कुनै पहाड़ छैन

मान्छेले नडुबेको कुनै सागर छैन

मार खाएकै हो पटक पटक

तर हार कहिलै खाएको छैन

त्यसैले मान्छेनै जेष्ठ प्राणी हो

सर्व श्रेष्ठ विवेकशील प्राणी हो

लाखौ चुनौतीलाई पार गरेको छ

युगौ युगलाई छलांग मारेर

आएको मान्छेको

धैर्य र वीरताको

लगनशील र मनोबलको

त्यो युगदेखि

यो युगसम्म

छ प्रत्यक्ष प्रमाणको लेखा जोखा।।

प्रकाशित मिति: : 2020-04-25 12:50:00

प्रतिकृया दिनुहोस्