सरकारलाई सहयोग गर्ने यही ठूलो अवसर हाे, घरमै नमाज पढ्नुस्: अध्यक्ष अन्सारी

बिएल संवाददाता

काठमाडाै‌ं

मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीले शनिबारबाट सुरु हुने रमजानमा मस्जिदमा नगइ घरमै नमाज पढ्न आग्रह गरेका छन्। मुस्लिम समुदायले सरकारलाई सहयोग गर्ने अहिले ठूलो अवसर प्राप्त गरेको भन्दै उनले उक्त आग्रह गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष अन्सारीले नेपालमा ४८ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे जानकारी गराउँदै सुरक्षित हुनकाे लागि सबैसँग आग्रह गरे।

‘सामाजिक दूरी तथा भौतिक दूरी कायम गर्नुहोस्। यो महामारी कुनै धर्म र जात विशेषलाई हुने नभएकाले रोगसँग मिलेर लड्नुपर्नेुपर्छ,’ उनले भने।

उनले जमातीको ठूलो संख्यालाई उदयपुर र वीरगञ्जमा कोरोना भाइरसको संक्रमण भएको उल्लेख गर्दै आफूहरु गम्भीर भएको बताए।

यस्तै उनले काठमाडौं उपत्यकाका मस्जिदहरुमा बस्दै आएका धर्मगुरु र कर्मचारीहरुको स्वाब परीक्षण गरिएको पनि जानकारी दिए।

‘हरेक मदरसा र मस्जिदमा बसेकालाई स्वाब टेष्ट गरिएको छ,’ उनले भने,‘  मस्जिद, मदरसामा कोही छुटेको भए अबिलम्ब प्रशासनमा सम्पर्क गर्न म आग्रह गर्छु।’

अध्यक्ष अन्सारी अहिलेपनि मुलुकका मस्जिदमा कोही फसेको भए सम्बन्धित स्थानीय तहलाई खबर गरेर सहयोग गर्न आग्रह गरे।

प्रकाशित मिति: : 2020-04-24 19:34:23

प्रतिकृया दिनुहोस्