अब हरियो तरकारी टोलटोलमा

लकडाउनका कारण बजारमा ताजा र हरियो तरकारी अभाव हुने धेरैलाई डर थियो ।

अर्कातिर कोरोना संक्रमणको जोखिमी समयमा भारतीय तरकारी आउने डरले उपभोक्ता खरीद गर्न समेत हिचकिचाउने गरेको अवस्थामा भैरहवामा टोलटोलमै ताजा तरकारी उपलब्ध गराइएको छ ।

प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सिद्वार्थनगर नगरपालिकाको समन्वय तथा जनउत्थान बचत तथा क्रृण सहकारी संस्था लिमिटेड रुपन्देहीको व्यवस्थापनमा भैरहवामा नेपाली किसानले उत्पादन गरेको तरकारी वितरण गरिएको हो ।

सियारी र  शुद्धोधन गाउँपालिकाका विभिन्न क्षेत्र र टिकुलीगढका किसानले उत्पादन गरेका हरियो र ताजा तरकारी किसानकै मूल्यमा भैरहवाको टोलटोलमा पाउने गरी व्यवस्थापन गरिएको  सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौडेलले बताए ।

अध्यक्ष पौडेलले भन्नुभयो, “हामीले किसानले जुन मूल्यमा खेतमा बिक्री गर्नुहुन्छ, सोही मूल्यमा उपभोक्ताले पाउनेगरी बिक्रीको प्रबन्ध मिलाएका छौंँ । ’

हरियो सब्जी टोलटोलमा पुर्‍याउने गरी कृषि एम्बुलेन्सबाट भैरहवाका अन्नपूर्णटोल, दुर्गा मन्दिर,  बैकक्लोनी र डाँडागाउँमा  हरियो र ताजा तरकारी बिक्री गरिएको छ ।

भिन्डी प्रतिकेजी  रु ६०, टमाटर रु ३५, करेला रु ८० किलोका दरले बिक्री भएको छ ।  बजारमा  प्रतिकेजी भिण्डी १२०,  टमाटर रु ६० र  करेला रु १२० मा बिक्री भइरहेको छ ।

उन्नाइस हजार ५ सय सदस्य रहेको जनउत्थान सहकारीको प्रबन्धमा भइरहेको उक्त तरकारी बिक्री कार्यक्रमले चोरीतस्करी गरेर आउने भारतीय विषादीयुक्त तरकारी पनि विस्थापन गर्ने सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले बताए । 

प्रकाशित मिति: : 2020-04-24 16:49:05

प्रतिकृया दिनुहोस्