पाँचौँ भूकम्प स्मृति दिवस : मुख्यमन्त्री गुरुङद्वारा सन्देश

बिएल संवाददाता

चिप्लेढुङ्गा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाएकालाई स्मरण गर्दै उनीहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्।

मुख्यमन्त्री गुरुङले शुक्रबार जारी गरेको सन्देशमा श्रद्धासुमन व्यक्त गर्दै भने 'यतिबेला  भूकम्पपछि सिङ्गो देश उच्च आत्मबल र धैर्यता बटुलेर एकापसमा सहकार्य र सहयोेगको भावनाका साथ उद्धार, राहत र पुनःनिर्माणको अभियानमा जुटेको इतिहास स्मरण गर्न र गराउन चाहन्छु। हामी अहिले विश्वव्यापी महाविपद¬् कोभिड–१९को महामारीविरुद्धको लडाइँमा छौँ। सङ्कटै सङ्कटको गर्भबाट गुज्रँदै समाधानको बाटो हिँडेको हाम्रो गौरवशाली इतिहास र आजको दिन कोभिड–१९ले निम्त्याएको महासङ्कटमाथि विजय प्राप्त गर्न हामी सबैलाई अवश्य प्रेरणा दिनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ।'

उपचारको विश्वसनीय विकल्पको आविष्कार भइनसकेको वर्तमान अवस्थामा यस रोगको सङ्क्रमणबाट जोगिन पूर्व सतर्कता अपनाउनु सबैका लागि अपरिहार्य हुन गएको बताउदैं मुख्यमन्त्री गुरुङले भने, 'लकडाउनको पूर्ण पालनासहित सङ्क्रमणबाट बच्ने उपायका सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनले जारी गरेका निर्देशन र सूचनालाई व्यवहारमा पूर्ण कार्यान्वयन गर्नुपर्छ।'
 

प्रकाशित मिति: : 2020-04-24 12:59:19

प्रतिकृया दिनुहोस्