प्रधानमन्त्री ओली 'एक कदम पछि' हट्ने रणनीतिमा, मन्त्रिपरिषद्‍बाट अध्यादेश फिर्ताको संभावना

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले ११ बजेका लागि डाकेको मन्त्रिपरिषद् बैठकबाट राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने संभाना रहेको प्रधानमन्त्रीकी सचिवालय सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

एक सल्लाहकारले आफूलाई कोट नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओली 'एक कदम पछि हट्ने' संभावना भएको बताए । उनका अनुसार, राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने संभावना छ । 

अध्यादेशको तत्कालीन प्रयोजन सकिएको र निशाना नै समाप्त भएकोले पार्टी भित्र र बाहिरको दबाब सम्बोधन गर्न पनि फिर्ता गर्ने मनस्थितिमा पुगेको उनको विश्लेषण छ । 'कहिलेकाहीँ एक कदम पछि पनि त हट्नुपर्छु, प्रधानमन्त्री सचिवालय स्रोतले नाम उल्लेख नगर्न आग्रह गर्दै भन्यो, 'यसबारे हिजै साँझ राष्ट्रपतिज्यूसँग छलफल भएको छ।' 

अध्यादेश खारेज गर्नेबारे उनले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरिसकेका छन् । प्रधानमन्त्री ओली साँझ सात बजेदेखि ८ बजेसम्म शितल निवास बसेर फर्किएका थिए।

बिहीबार बिहान अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई फिर्ता गर्ने आश्वासन दिए पनि फिर्ता नलिएको भन्दै साँझ भैंसेपाटी भेला आयोजना गरिएको थियो ।  

यसबाहेक कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी लकडाउनका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: : 2020-04-24 11:33:10

प्रतिकृया दिनुहोस्