सांसदलाई तराईबाट ल्याएर होटलमा थुन्नेलाई कारबाही गर: भीम रावल

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले तराईबाट सांसदलाई काठमाडौंमा ल्याएर होटलमा थुन्ने कार्यमा संलग्नहरुलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन्। 

वैशाख ८ गते सरकारले ४० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी फुटाउन सक्ने अध्यादेश जारी गरेको थियो। त्यस्तै संवैधानिक परिषदमा बहुमतले निर्णय लिन सक्ने प्रावधान सहितको अर्को अध्यादेश समेत जारी गरेको थियो।

सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै समाजवादी पार्टीलाई विभाजन गर्नका लागि केही सांसदहरुलाई काठमाडौंको मेरियट होटलमा राखिएको थियो।

जनकपुरमा रहेका सांसद सुरेन्द्र यादवलाई त्यहाँबाट अपहरणको शैलीमा काठमाडौँ ल्याइएको थियो। यो कार्य प्रधानमन्त्री केपी ओलीको आदेशमा भएको श्रोत बताउँछ।

सोही प्रकरणमा नेता भीम रावलले तराईबाट अपहरणको शैलीमा सांसद ल्याएर काठमाडौँको होटलमा थुन्ने कार्यमा संलग्नहरुलाई कानुन बमोजिम कारबाहीको माग गरेका हुन्। 

उनले यस्ताे प्रवृत्ति अध्यादेश प्रकरणमा दोहोरिएको बताएका छन्। तर यसअघि कसले सांसदलाई त्यसरी काठमाडौं ल्याएर थुनेको थियो भन्नेबारे उनले खुलाएका छैनन्।

‘सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर,अपहरण शैलीमा तराईबाट काठमाडौँ ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ’, नेता रावलले भनेका छन्, ‘यसको छानबिन गरी गैरकानुनी कार्य गर्नेलाई कारबाही हुनुपर्छ।’

प्रकाशित मिति: : 2020-04-24 07:29:37

प्रतिकृया दिनुहोस्