जर्मनीमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, स्विजरल्याण्डमा अनिवार्य छैन

जर्मनीका सबै राज्यले मास्क लगाउन अनिवार्य गरिएको छ। कोरोना भाइरसको महामारी फैलिन दिनका लागि सार्वजनिक स्थानमा निस्कँदा अनिवार्य मास्क लगाउनु पर्ने नियम लागु गरिएको हो। 

यसमा ब्रेमेन शहरले मात्र सहमति जनाउन बाँकी रहेको बिबिसीले जनाएको छ। ब्रेमेनको सिनेटले शुक्रबारसम्म निर्णय दिने बताएको छ। गएको हप्ता चान्सलर आंगेला मर्केलले मास्कको प्रयोगमा जोड दिएकी थिइन्। जर्मनीले लकडाउन खुकुलो पार्नका लागि मास्क अनिवार्य गरेको हो।

सार्वजनिक स्थल, सार्वजनिक गाडीतिर यातायात गर्दा होस् वा किनमेलका लागि बजार जादाँ, मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ।

तर बर्लिन शहरमा भने किनमेलको समयमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छैन।

दक्षिणपश्चिममा राइनल्याण्ड-प्यालाटिनेटले स्कुलहरू पुनः संचालन गर्न लागेको जनाउँदै विद्यार्थीहरूलाई पुनः प्रयोग गर्न मिल्ने मास्क दिने बताएको छ।

यस्तै बेभरियामा सात वर्ष माथिका सबैले अनिवार्य मास्क लगाउनुपर्नेछ।

यसैगरी लकडाउन खुकुलो बनाउने तयारी गरिरहेका युरोपेली मुलुकहरूले मास्क प्रयोगका बारेमा विभिन्न नियम जारी गरेका छन्।

अस्ट्रियाले यसै महिनाको सुरुबाट किनमेलमा जादाँ अनिवार्य मास्क लगाउनुपर्ने नियम लगाइसकेको छ।

बुधबारबाट प्रतिबन्धहरु खुकुलो पारेको स्विजरल्याण्डले भने लकडाउन मास्क लगाउनु अनिवार्य गरेको छैन।

जर्मनीको रोबर्ट कोच संस्थान (आरकेआई) ले हालसम्म जर्मनीमा १ लाख ४५ हजार ६ सय ९४ जनामा कोरोनाको संक्रमण भेटिएको र ४ हजार ८ सय ७९ जनाको मृत्यु भएको जनाएको छ।

प्रकाशित मिति: : 2020-04-23 08:04:06

प्रतिकृया दिनुहोस्