आमा भन्दा सुन्दर कुनै शब्द छैन- खलिल जिब्रान
प्राकृतिक सुन्दरता, प्राचिन सभ्यता, तपस्वीहरूको योग र साधनाले उर्बरभूमि र देउताको बासस्थान, हिमालयको सुन्दर काखबाट धर्तिको अर्कोतर्फ रहेको सफल अनि बिराट देश अमेरिका जाने सपना बोकेर सिरहाको टोडकेबाट काठमाडौं आएँ।
काठमाडौंमा मैले आमासँग सिध्दार्थले उनका पिता राजा शुध्दोधनसँग घर छाडेर जाने अनुमति मागेझैँ अमेरिका जाने अनुमति मागेँ। रसाएका आँखाले मलाई पुलुक्क हेरि ‘नजाँदा हुँदैन? सबै कुरा त यहीँ छ’, भनेर प्रश्न गर्दै औषधिका पोका खोतल्नु भो।
आमा बिगत लामो समयबाट हाडजोर्नीको रोगले ग्रस्त हुनुहुन्थ्यो। प्रत्येक दिन बिहान बेलुका औषधिको पोका खोतलेर खानुपर्ने औषधि खोज्ने गर्नुहुन्छ। आज फर्केर हेर्दा तीन दशक बढी हुँदैछ। आमाको यो दिनचर्या। कहिले काहीँ आमाको दैनिकी देखेर धड्किरहेको मेरो यो मुटु रूक्न खोज्छ । सकस र ग्लानिमा उसले धड्किन भुले झैँ गर्छ। आखिर म त्यहीँ शरीर जो हुँ। उक्त दिन अमेरिका जाने कुरा गर्दा पनि म भित्र आमासँग टाढिने कुराले ठूलै हलचल उत्पन्न गरेको थियो। तर बाहिर शान्त देखाएँ। केहीबेर मौन रहनु’भो र औषधि खान खोज्दै, अमेरिका जाने स्वीकृति दिनु’भो।
सायद उहाँ आफ्नो स्वास्थ्यको कारण सबै सन्तानहरु सधै सँगै होस् भन्ने चाहनुहुन्छ। म भने हिँडीरहनुपर्ने। जहाँ जता सुकै हिँडे पनि आमाको सम्झनासम्म मात्रले आँखा रसाउने गर्छ, तर पनि जीवन बुझ्ने रहर र यात्राको निरन्तरताको लागि जीवनको यो कठोर निर्णय लिएँ। फर्केर हेर्दा, अमेरिका आएको पनि लामो समय भइसकेछ।
मैले घर छाडेपछि शान्त अनि सुस्त हिँड्दै गरेको जीवनशैलीबाट एक्कासी अमेरिकाको तिब्र गतिमा गति मिलाएर हिँड्नुपर्यो। कहिले काँही कामको चाप बढी भएर खुट्टा सुनिने गरि काम गर्नुपथ्र्यो र त्यसैले यो शरीर बेस्सरी थाक्थ्यो।
काम गरिरहँदा परिवारको सम्झनाले सताउँदा रेष्ट रूममा पसेर बेस्सरी रुन्थेँ अनि आमालाई अंगाल्न मात्र पाए सबै ठिक हुँन्थ्यो भन्ने मनमा खेल्थ्यो। म परदेशमा देश खोजेर निकै भक्कानिएको छु। राजा शुद्धोधनसँग सिद्वार्थले सद्धर्म जोतिमय मार्ग खोज्न घर छाड्ने अनुमति लिएर गए पछिका दुखः, पीडाहरु सर्वबिदितै छ।
उनै सिद्धार्थको दुःखको सम्झना गर्दै आत्तिएको मनलाई सम्हाल्दै कदम अगाडि बढाईरहेँ। सत्कर्मको परिणम हुनुपर्छ मैले त्यही धर्तीमा जन्मिन पाएँ जहाँ महा ज्ञानि, गुरूहरूको पनि गुरू, साक्षात भगवानको रूप सिद्धार्थ गौतम बुद्धले जन्म लिएका थिए। मैले उनलाई गुरू मानेर मनमा बसाएको छु। मेरो अज्ञानता वा सम्बन्धहरुको मोहले, म उनको सम्पूर्ण निर्देशन पालना गरिरहेको छैन।
विभिन्न कठिनाईको बाबजुद समयसँगै म यहाँको भाषा, जीवनशैली र समाजसँग घुलमिल हुँदै गएँ। अहिले असहजताबाट बिस्तारै सहजताहरु तर्फ लम्कँदै छु।
सेप्टेम्बरको महिना, शरद ऋतु, आकास सफासँग खुलेको, छर्लङ्ग घाम लागेर हल्का चिसो हावा बहिरहेको दिन थियो। म सधैंजसो काममा ब्यस्त थिएँ। उक्त समय डबिन रोड, कोलम्बिया, मेरिल्याण्डको ट्राफिक लाइटमा थिएँ।
गाडीमा नारायण दाइको ‘तिमी जुन लहरमा ममा मिल्न आयौ...’ भन्ने गाना सुन्दै थिएँ। उक्त ट्राफिक लाईटमा उनलाई पहिलो पटक अलि पर देखेँ। हातमा केही बोकेर यता उता हेर्दै, भिखारीको रूपमा। अमेरिकामा हातमा आफ्नो अवस्था लेखिएको सूचना कार्ड देखाएर माग्ने गर्छन्। यसर्थ, पहिलोपटक उनलाई देखेर मनमा आएको कुरा मागेर खाने मान्छे भन्ने थियो। तर जब उनी म नजिक आउदै थिई, मैले उनले बोकेको सूचना बोर्ड पढ्दै गएँ। जसमा लेखिएको थियो, ‘एक्लो आमा, मेरो पतिको रोगले गर्दा मृत्यु भयो, म पनि रोगी छु, काम गर्न सक्दिनँ, सायद मैले जीवनसँग लापरवाही गरेँ हुँला, तर सत्य अहिले म बिरामी छु, मेरा साना बच्चा छन्, प्रत्येक दिन घर फर्कदाँ खानेकुराको आश गर्छन् कृपया सहयोग गर्नुहोला’ , बोर्ड पढेर सकेपछि उनको आँखामा मेरो आँखा जुध्यो। मैले देखेको माग्ने मान्छेबाट कतिखेर उनी आमा बनिन्, मलाई थाहै भएन।
उक्त बोर्ड पढेर सकिँदासम्म त म शून्य बनिसकेको रहेछु। कता कता के के दुःखे जस्तो भएर आयो। उनलाई ईशारा गरेँ र केही पैसा दिएँ, अनि भने माफ गर्नुहोला, अहिले मसँग मात्र यति हो। उनले बिस्तारै केही गलेको, थाकेको स्वरमा सुस्तरी बोलिन्, ‘मैले धेरै मान्छेसँग पैसा मागिरहेको हुन्छु, तर जब तिमीले मलाई देख्यौ, मलाई होईन। मेरो बोर्ड पढेर सहयोग गरेको जस्तो लाग्यो। आखिर तिमीले एउटा आमाको पुकार बुझ्यौं, तिमीलाई ईश्वरले हेर्नेछ छोरा, भन्दै मुश्कीलले हाँसिन्।
हरियो बति बलेर म हिँडेँ। तर जति पर म जाँदै थिएँ उनीबाट, म गल्दै थिएँ, केही असजिलो बन्दै गएँ। दुःख, पीडा अनि आमाको कारणले, नव दम्पत्ति सिद्धार्थ र यशोधरा रथमा टहलिएको अवस्थामा बेहोस बनि बाटोमा लडेको ब्यक्ति देखेर उत्पन्न सिद्धार्थको अवस्थाझैँ महशुस गरेँ।
धेरै प्रश्नहरु मनमा उब्जिए। उनको अस्वस्थ शरीर र घरमा छाडेर आएका नाबालक स–साना बच्चाहरु सम्झिएँ। सोही समय स्मृतिको कुनै कुनाबाट औषधि चलाईरहेको आमालाई देखेँ। गाडी चलाईरहँदा अगाडिको सफा, अनि सुन्दर सडक धमिलो बन्दै गयो, मन अशान्त बनिरहयो धेरै बेर।
शिशिर ऋतु, चारै तिर पात झरेर नाङ्गिएको रुखहरु, सडकको किनारमा हिउँका पहाडहरु माथि आकाशमा कालो बादल, चिसोको बिगबिगी, मुटुनै कपाउने गरि मडारिँदै बहिरहेको हावा, हावाको झोँकले मच्चिरहेको ट्राफिक लाईटहरू, मानौं पिङ खेलिरहेका थिए र उक्त लाईटमा बलिरहेको रातो बत्तिको कारण म रुकिरहेको थिएँ।
ठाउँ त्यही थियो डबिन रोड। गाडिका सबै विन्ड शिलहरु लगाएर तातो एसी र केहि पहिला मात्र स्टार बक्सबाट किनेको तातो कफि पिउँदै थिएँ। चिसोमा काम गर्नु परेकाले नेपालका फुर्सदिला दिनहरु खुब सम्झिरहन्थेँ म। विशेष गरि नेपालमा हुँदा बन्द हड्तालले आजित थिएँ, यहाँ काम गरेर कहिले नसकिने। उसो त कहिले काहीँ त बन्द हड्ताल भएर काम गर्न नपरे पनि हुँन्थ्यो भने झैँ नलागेको भने होईन।
मौसम विभागले चिसो अझ बढ्दै जाने बताएको हुँदा, तातो कफीको चुस्की लगाउँदै बाहिरको मौसमलाई नियाँल्दै थिएँ, पर सडक किनारमा एक्लो ठिङ्ग उभिएकी सोही आमालाई देखेँ । हातमा सोही लेखिएको कार्ड बोकेर।
जोडले चलेको हावाले उनले लगाएको ज्याकेट उडाउलाझैँ थियो। उनी एक हातले ज्याकेट समाई अर्को हातले त्यो ट्राफिक लाईटमा रोकिएको गाडी भित्रको आफू जस्तै मान्छेलाई लेखिएको कार्ड देखाउँदै थिइँन्। उनलाई देख्ने बित्तिकै मन हुरूक्क फुलेर आयो, शरीर भरी काँडा उम्रिए। मैले उनलाई देख्ना साथ चिनेको थिएँ। उनले मलाई हेर्नुको प्रक्षिामा थिएँ।
बाहिरको मौसमको अनुमानले मात्र मेरो शरीरभरि काँडा उमारिदियो उनले यताउति आँखा चलाउँदा गाडी भित्र बसेको मलाई देख्नासाथ हात उठाउँदै मुश्किलले हाँसिन् र म तिर बढिन्। उनको त्यो एकै क्षणको हाँसोमा सम्पूर्ण प्रकृति उज्यालो देखेँ। नजिकबाट जब उनलाई हेरेँ , चिसोले कलेटी परेर निलो भएको ओँठ काँपिरहेका थिए। उनीसँग बोल्न थोरै खोलेको शिसाबाट छिरेको हावाले मेरो शरीर भरी पुन काँडा उमारिदियो। हावाले उडाएको कपाल समाउँदै बोलिन्, ‘हाउ आर यू सन्?’
चिसोले काँप्दै बोलेका यी वाक्यले एसीको तातोमा आफ्नै गतिमा धड्किरहेको मेरो मुटुमा चस्स घोच्यो। मैले नमिठो अनुभव गरेँ। मलाई उनी आज फरक लागिन्, उनमा कुनै दैवीय शक्तिको बास हुनुपर्छ भन्ने अनुभव गरेँ। नमिठो अनि भारी मनले बोलेँ , ‘आइ एम टोटली फाईन, हाउ अबाउट यू?’ उनी पुनः मुश्किलले हाँसिन् र भनिन्, ‘यू नो, आई एम ओके ,वेदर वेन्ट क्रेजी टुडे, सो डोन्ट नो ह्वाट टु डु?’ मैले केही पैसा दिएँ र नजिकैको स्टारबक्स तर्फ देखाउँदै भने, ‘गो गेट दि हट कफी फस्ट्र।’
खै अप्ठयारो मानिन् र पुनः बोलिन्, ‘आई ह्याब टु म्यानेज थ्री हन्ड्रेड फिप्टी डलर फो माई योँङ्गेष्ट सन्, सो द्याट् ही क्यान पार्टीसिपेड हिज स्कूल विनट्र प्रोग्राम विद हिज फ्रेन्ड्स। सो आइ डोन्ट वान्ट टु बाई एनिथीङ्क। यू डोन्ट वरि , आई एम ओके।
यति बोल्दै गर्दा उनको मुहारमा दृढ सङ्कल्प देखेँ। आखिर उनी “आमा” जो हुन्। सन्तानको लागि ज्यान दिन तयार हुने “आमा”। उतिनै बेला धर्ति फाट्ला झैँ गरि माथि आकाश गज्र्यो , बिजुली चम्क्यो , कालो बादलवाट पानी झरे, पानी मेरो गाडीको सिसामा ठोकिएर नाच्न थाले , मेरो समिप उभिएकी उनी क्रमशः रुझ्न थालिन्, हावा अझ जोड्ले बतासिन थाल्यो, चिसो अझ बढ्दै गयो, हेर्दा हेर्दै उनी रूझिन्। उनले ओत लाग्ने कुनै संकेत देखाईनन्। मैले फेरि भने , ‘गो गेट सम् रेस्ट’। उनि हाँसिन् र बोलिन्, ‘आई ह्याब टु गिभ हिम टुडे, दे क्लोज टुमरो।’
अनि चिसोले काँपिन्। आफ्नो सन्तान र उनको शिक्षा प्रतिको मोहले मैले जोन उड अनि उनको रुम टु रिडका स–साना पढ्दै गरेको बच्चाहरु सम्झिएँ। आखिर म उनकै भूमिमा थिएँ। काँपिरहकी ती “आमालाई” गाडी भित्रको तातो त दिन सकिनँ, त्यही तातोमा बसेर कमाएको पैसा पुनः दिएँ। यो पटक अप्ठयारो मानेर लिइन्। पैसा दिन शिसा तलसम्म खोल्दा ह्वात्त छिरेको चिसो हावा र पानीले मेरो शरीरभरि काँडा उम्रेन, त्यो चिसो हावा र पानीले एकै साथ स्पर्श गर्दा सात समुन्द्रपारी, हजारौं माईल टाढा रहनुभएकी मेरी “आमाले” अङ्गाल्दाको स्पर्श अनुभब गरेँ।
हरियो बत्ति बलेर अगाडि बढ्दै गर्दा मानवीय पीडाहरू देखेर मन बिचल्लित बनिरह्यो। पीडाले छटपटिएका मन लिएर माथि आकास तर्फ हेर्दा कालो बादलमा शान्त बसिरहेको महाज्ञानी, गुरूका पनि गुरू , साक्षात भगवानको रुप सिद्धार्थ बुद्ध देखको महशुस गरेँ।
आकास गर्जिएर प्रजोलित हुँदै सद्धधर्म र महापरिनिर्वाण तर्फ सँकेत गरे झैँ महशुस भो। अशान्त अनि छटपटिएको मनले धेरै कुराहरु सम्झिँरहे र उडी रहेँ भाव सागरमा। हिउँले भरिएको सडकमा गुडिरहेको गाडी चिप्लिएर सडक छेउ पुग्दा अतालिँदै ‘आमा’ भने।
हो, संसारमा जहाँ पुगे पनि आमाको काख भन्दा सुन्दर, सुरक्षित र शान्त ठाउ छैन। सोही ठाउँ छाडेर हिँडेको एक यात्रीले आज फेरि आमा सम्झेँ। आमासँगै हुन नपाएको र आमाका पीडामा केही गर्न नसकेको कारण उदास यो मनले आमालाई सम्झेर आफैंले लेखेको केही शब्द बर्बराएँ।
‘मैले यो जीवनमा
के पाएँ या के गुमाएँ
कहिल्यै बुझिनँ
तर सँधै महशुस गरेको छु
जे पाएँ आमा
जे गुम्नेछ आमा।’