सीमा पारी बसेर बाबुको किरिया गरिरहेका तीन दाजुभाइ नेपाल प्रवेश

लकडाउनका कारण भारतीय क्वारेनटाइनमा रहेका बैतडीका तीन जना किरियापुत्री बुबा बितेका  चार दिनपछि आज बेलुका नेपाल प्रवेश गरेका छन्।

जिल्लाको पुर्चौडी नगरपालिका–३ का प्रेम धामी, अम्मर धामी र राम धामीले बुुबा बितेको चार दिनपछि नेपाल प्रवेश गर्न पाएका हुन्। नेपाल प्रवेश गरेका किरियापुत्रीका बुबा उजले धामीको आइतबार मृत्यु भएको थियो ।  

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार भारतको पिथौरागढका डिएमसँग कुराकानी गरी तीनै जनालाई झुलाघाट नाकाबाट नेपाल फर्काइएको हो। नेपाल फर्काइएका तीनैजनालाई जिल्ला अस्पतालमा राखिएको छ। उनीहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिने प्रजिअ पौडेलले बताए।

भारतको पिथौरागढमा काम गर्दै आएका ती मजदूर लकाडाउनका कारण घर आउन पाएका थिएनन् । भारतीय क्वारेन्टाइनमै बसिरहेका बेला बुवाको मृत्युको खबर पाएपछि आफूहरुले भारतीय क्वारेन्टाइनमै किरिया शुरु गरेको अमरसिंह धामीले जानकारी दिए। यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिका–१का वासुदेव भट्ट आमाको मृत्यु भएको पाँच दिनपछि नेपाल फर्किएका थिए। 

प्रकाशित मिति: : 2020-04-22 23:19:36

प्रतिकृया दिनुहोस्