विश्वभर भोकमरीकाे चपेटामा पर्नेकाे संख्या २५ करोड नाघ्ने आँकलन

बिएल संवाददाता

काठमाडाै‌ं

विश्वमा अनिकाल वा भोकमरीको जोखिम बढ्दै गएको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले चेतावनी दिएको छ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का प्रमुख डेविड बिज्लेईले कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वभर भोकमरीको उच्च जोखिम देखिएको बताएका छन्।

उनका अनुसार विश्वभर भोकमरीका कारण समस्यामा पर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड भन्दा बढी पुग्ने आँकलन गरिएको छ।

केही महिनाभित्रै याे भयानक अवस्था सुरु हुन सक्ने उनले बताए। एकीकृत प्रयास र सहकार्यले कोभिड–१९ को विश्वव्यापी महामारीलाई मानवीय तथा खाद्य संकटको विकराल रुप बन्नबाट जोगाउन सकिने उनले उल्लेख गरेका छन्।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको भिडियो कन्फ्रेन्स मार्फत भएको बैठकमा सम्बोधन गर्दै डब्लुएफपीका प्रमुख डेविडले सम्भावित गम्भीर अनिकाल विरुद्ध विश्वले अति तीव्र तर बुद्धिमतापूर्ण ढंगले काम गर्नु पर्ने बताए।

डब्लुएफपीका अनुसार भोकमरीका कारण सबैभन्दा बढी प्रभावित हुने १० देश छन्, जुन देशमा द्वन्द्व, आर्थिक संकट र जलवायु परिवर्तनको प्रभाव अधिक परेको छ।

ग्लोबल रिपोर्ट अन फुड क्राइसिसको चौथो वार्षिक प्रतिवेदनमा यमन, प्रजातान्त्रिक गणतन्त्र कंगो, अफगानिस्तान, भेनेजुएला, इथियोपिया, दक्षिण सुडान, सुडान, सिरिया, नाइजेरिया र हाइटीलाई भोकमरीको सबैभन्दा उच्च जोखिममा रहेका देशको सूचिमा राखिएको छ।

कोरोनाको महामारी पूर्व पनि पूर्वी अफ्रिका र दक्षिण एसियाका देशहरुले खाद्यान्न अभावको गम्भीर संकट भोगेका थिए। यी क्षेत्रमा खडेरी तथा केही दशक यताकै सबैभन्दा ठूलो सलह महामारीका कारण खाद्यान्नको संकट उत्पन्न भएको हो।

भाेकमरीकाे असर

मध्यम स्तरको आय भएका देशहरु विशेष गरी जहाँको आर्थिक वृद्धि सुस्त रहेको छ, ती देशमा भोकमरीको समस्या बढ्दो क्रममा देखिएको छ। यस्तै भोकमरी व्याप्त रहेका देशमा मानिसहरुको आयमा रहेको भिन्नता बढ्दै गएको देखिएको छ। जसका कारण गरिबहरुलाई थप समस्या हुने गरेको छ।

भोकमरी तथा कुपोषणका कारण प्रभावित भएका क्षेत्रमा नवजात शिशुको तौल कम हुने समस्या अझै पनि गम्भीर रहेको छ। विशेष गरी भोकमरीबाट बालबालिका बढी प्रभावित भएका छन्। हरेक सात नयाँ जन्ममा एक शिशु कम तौलका हुने गरेका छन्। 

भोकमरी बढे जस्तै मोटोपनको समस्या पनि बढ्दै गएको देखिएको छ। मोटोपनका कारण हुने समस्याले गर्दा विश्वमा हरेक वर्ष ४० लाख मानिसको ज्यान जाने गरेको उल्लेख छ। मोटोपनको समस्या सबै उमेर समूहका मानिसमा छ। तर स्कूले उमेरका बालबालिकामा यो समस्या तीव्र रहेको देखिएको छ।

नेपालको अवस्था

ग्लोबल हङ्गर इन्डेक्समा विश्व भोकमरी सूचाङ्कमा नेपाल ७३औँ स्थानमा छ। जबकी अघिल्लो वर्ष ७२औँ स्थानमा थियो। 

उक्त सूचीअनुसार दक्षिण एसियालीमा नेपाल राम्रो स्थितिमा छ। भारत यो सूचीमा १०२ स्थानमा परेको छ। दक्षिण एसियाली मुलुकमा भोकमरीमा नेपालको भन्दा श्रीलङ्काको स्थिति राम्रो छ। जुन सूचाङ्कमा श्रीलङ्का ६६औँ स्थानमा रहेको छ। सो सूचीमा अफगानिस्तान, पाकिस्तान, बङ्गलादेश, नेपालभन्दा पछाडि परेका छन्।

यो सूची अनुसार अफगानिस्तान १०८ पाकिस्तान ९४, बंगलादेश ८८औँ स्थानमा पुगेको छ। भुटान र माल्दिभ्स भने सूचीमा समावेश छैनन्। 

नेपालले पछिल्लो दुई दशकयता निरन्तर सुधार देखाएको छ। तथ्याङ्क अनुसार सन् २००० मा ३६ दशमलव आठ अङ्क पाएको नेपालले सन् २००५ मा ३१ दशमलव ३ अङ्कमा झारेको थियो। सन् २०१० मा २४ दशमलव ४ अङ्क प्राप्त गरेको नेपालले सन् २०१९ मा आइपुग्दा सुधार गर्दै अङ्क २० दशमलव ८ मा झारिसकेको छ।

सूचीका अनुसार देशलाई विभिन्न पाँच वर्गमा विभाजित गरी भोकमरीको अवस्थाबारे चित्रण गरिएको छ। सय पूर्णाङ्कलाई आधार मानेर शून्यदेखि ९ दशमलव ९ अङ्क प्राप्त गर्ने मुलुकमा भोकमरीको अवस्था न्यून रहेको मानिएको छ।

यस्तै, १० देखि १९ दशमलव ९ अङ्क प्राप्त गर्ने मुलुकमा मध्यमस्तरको भोकमरी र २० देखि ३४ दशमलव नौ लाई गम्भीर प्रकृतिको भोकमरीका रूपमा अर्थयाइएको छ।

३५ देखि ४९ दशमलव ९ अङ्क प्राप्त गर्ने मुलुकमा भयावह तथा ५० अङ्कभन्दा माथि प्राप्त गर्ने मुलुकमा भने भोकमरीको स्थिति अति भयावह भनेर चित्रण गरिएको छ। यसमा नेपालले २० दशमलव ८ अङ्क प्राप्त गरेको छ, जुन मध्यमस्तरको भोकमरीभन्दा थोरै माथि हो। 

#एजेन्सीकाे सहयाेगमा 

प्रकाशित मिति: : 2020-04-22 09:12:31

प्रतिकृया दिनुहोस्