कृषि उत्पादन वितरणलाई सहज बनाउन शिवराज नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ।
प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको निर्देशनानुसार कृषि तथा पशुपन्छीजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणका लागि एम्बुलेन्स सञ्चालन गरिएको ऋग्वेद कृषि फार्मका सञ्चालक सन्तोष पन्थले जानकारी दिए।
कोभिड—१९ को नियन्त्रणका लागि बाहिरबाट आउने तरकारी तथा फलफूुललाई पूर्णरुपमा प्रतिबन्ध लगाइएका अवस्थामा स्थानीयस्तरमा उत्पादित कृषि उपजको सुलभ आपूर्ति तथा वितरणको व्यवस्थापनका लागि कृषि एम्बुलेन्स सञ्चालन गरिएको उनको भनाइ छ।
'स्थानीय कृषकले उत्पादन गरेको तरकारी पिकअप गाडीमा लादी गाउँगाउँमा कृषि एम्बुलेन्समार्फत बिक्री वितरण गरिएको छ' उनले भने।
लकडाउनका कारण तरकारी अभाव भएका अवस्थामा घरमै सस्तो दरमा खरीद गर्न पाएकामा खुशी व्यक्त गर्छिन् शिवराज नगरपालिका –५ बालापुर मोड निवासी देवी पौडेल।