प्रदेश १ को सबैभन्दा बढी उद्योग र मजदुर भएको मोरङ–सुनसरी औद्योगिक क्षेत्रका ९० प्रतिशत उद्योग बन्द छन्। त्यसमा श्रम गरेर जीविको चलाउने हजारौं मजदुर झन्डै एक महिनादेखि बेरोजगार छन्। उनीहरू स्थानीय सरकार र संघसंस्थाले दिने राहतका भरमा दैनिकी चलाइरहेका छन्।
‘आज कता राहत पाइन्छ भन्दै हिँड्यो। भेटे फारु गरेर खायो। दिन–रात कटाउन अब समस्या सुरु भएको छ’, जुट उद्योगमा काम गर्ने सप्तरीका विष्णुदेव झा भन्छन्, ‘घरभित्र लुकेर बस्न पनि खानेकुरा त चाहियो नि !’ जनप्रतिनिधिले राहतमा पनि विभेद गरेको उनी सुनाउँछन्।
उनीजस्तै मजदुरको पुनः उद्योगमा गएर कमाउने आशा लम्बिँदो लकडाउन र बढ्दो कोरोना संक्रमण कारण चाँडै पूरा हुने देखिन्न। यो समय उद्योगले पहिले नियमित काम गर्नेहरूका लागि ‘केही व्यवस्था’ गर्नुपर्ने उनीहरू बताउँछन्। ‘लकडाउन सुरु भएको केही दिन त उद्योग खुल्यो। बजारैै बन्द भएका कारण साहुले अब बोलाएपछि मात्रै आउनू भनेर पठाए’, विराटनगर–११ पिचरामा बस्दै आएका सुखान यादव भन्छन्, ‘काम गर्दा पैसा आउँथ्यो, अहिले त्यो छैन।’
हजारौं मजदुर विराटनगर महानगरपालिका क्षेत्रमा बस्छन्। महानगरले वितरण गरेको राहत थोरैले मात्रै पाए। धेरै जना राहत पाउनबाट वञ्चित रहेको उनीहरूको गुनासो छ। ‘खै कहिले नागरिकता खोज्छन्, कहिले सूचीमा छैन भन्छन्। पहिलो लट सकियो रे। एक गेडो चामल पाएको छैन’, विराटनगर–२ मा बस्दै आएका सुवास मगर भन्छन्, ‘सापट लिएको पैसा पनि सकिन लाग्यो।’