अमेरिकाका केही दक्षिणी राज्यमा लकडाउन खुकुलो पारी डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पसल खुलाउन थालिएका छन्।
साउथ क्यारोलाइनाका गभर्नर हेनरी म्याकमास्टरले सोमबार अपराहन्न लकडाउन केही खुकुलो पार्ने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै बजार खुल्न थालेका हुन्।
यस्तै जर्जियाले पनि लकडाउन केही खुकुलो बनाउने तयारी गरेको छ। आउँदो शुक्रबारदेखि जर्जियाका बासिन्दा जिममा जान पाउँने छन्। कपाल तथा नङ्गका सैलुन, मसास तथा ट्याटु सेन्टर पनि खुला हुनेछन् भने रेस्टुरेन्ट तथा सिनेमा हल पनि सञ्चालनमा आउने छन्।
यसैगरी टेनिसीमा पनि अप्रिल ३० देखि लकडाउन सकिने र अधिकांश क्षेत्र खुला हुने जनाइएको छ।
यसरी एकातिर रिपब्लिकन राज्यहरू एकपछि अर्को खुलाउन हतारिरहेको बेला जनस्वास्थ्य विज्ञ भने खुशी देखिएका छैनन्। उनीहरू कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेकोले जोखिम उच्च रहेको भन्दै चिन्तित भएका हुन्। लकडाउन खुकुलो पार्नका लागि परीक्षणदर बढाउनु पर्ने उनीहरुको भनाई छ।
अहिले अमेरिकामा दैनिक डेढ लाख मानिसमा कोरोनाको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण हुने गरेको छ। त्यसमध्ये लगभग २० प्रतिशतको रिपोर्ट पोजेटिभ आउने गरेको छ । तर विज्ञले भने लकडाउन खुलाउनका लागि दैनिक पाँच लाख ८० हजारभन्दा बढीको परीक्षण हुनुपर्ने र संक्रमणदर १२ प्रतिशतभन्दा तल आउनुपर्ने बताएका छन् ।