अमेरिकामा उत्पादकले आफै पैसा तिरेर तेल बिक्री गर्न थाले

बिएल संवाददाता

काठमाडाै‌ं

अमेरिकामा तेलको  मूल्य इतिहासमै पहिलोपटक  ऋणात्मक भएको छ ।

भण्डारण क्षमता आउँदो मे सम्ममा समाप्त हुने भएका कारण उत्पादकले आफै पैसा तिरेर तेल बिक्री गर्न थालेका हुन् ।

अमेरिकामा तेलको मूल्य निर्धारण गर्ने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटिआई) मा तेलको मूल्य माइनस ३७.६३ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ ।

कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि विश्वभर लागु भएको लकडाउनका कारण मानिसहरु घर भित्रै सीमित भएका छन् । यसले गर्दा तेलको माग लगभग शून्य प्रायः भएको छ ।

यसले गर्दा तेल उत्पादकहरुले ट्यांकरहरु भाडामा लिएर तेल भण्डारण गरिरहेका छन् । जसका कारण अमेरिकी बजारमा तेलको मूल्य ऋणात्मक घेरामा गएको हो ।

तेल उद्योगहरु थोरै माग र उत्पादकबीच उत्पादन कम गर्नेुपर्ने विषयमा सुरु भएको बहसका कारण पहिलेदेखि नै समस्यासँग जुधिरहेका छन् ।

यसै महिनाको सुरुवातमा ओपेक (तेल उत्पादक देशहरुको संगठन) सदस्य देशहरु र तिनका सहयोगीहरुले तेल उत्पादन १० प्रतिशत घटाउन सहमत भएका थिए । तेल उत्पादन यति धेरै घटाउने डिल पहिलो पटक भएको थियो ।

यद्यपि केही विशेषज्ञका अनुसार तेल उत्पादनमा कटौती गरेर समस्या खासै सुल्झिएन ।

तेलको सबैभन्दा बढी निर्यातक ओपेक र यसका सहयोगी जस्तै रुस, पहिले नै तेल उत्पादन घटाउन राजी भइसकेको थियो । अमेरिका र बाँकी देशमा पनि तेल उत्पादन घटाउने निर्णय गरिएको थियो । तर, तेल उत्पादन घटाएपछि पनि विश्वभर प्रयोगको आवश्यकताभन्दा बढी कच्चा तेल छ।

 

प्रकाशित मिति: : 2020-04-21 06:22:46

प्रतिकृया दिनुहोस्