सिन्धुपाल्चोकबाट दुई केजी चिउरा, पाँच वटा चाउचाउ र दुईबोतल पानी बोकेर रुकुम हिँडेका युवा

रुकुमको आठविसकोट नगरपालिका–७ का गोरखबहादुर केसी युवक सिन्धुपाल्चोकमा दैनिक ज्यालादारीमा घर बनाउने काम गर्थे । पाँच महिना भयो उनी साथीहरूसँगै सिन्धुपाल्चोक पुगेको । 

उनीसँगै वडा नम्बर ८ र ९ वडाका भीमेश्वर थापा, अर्जुन शाही, डम्बर नेपाली, वीरेन्द्र वटाला र विमल नेपाली पनि गत मंसिरमा रुकुमबाट डकर्मी–सिकर्मीको काम गर्न सिन्धुपाल्चोक पुगेका थिए । 

उनीहरूले सिन्धुपाल्चोकमा सडक खने । घर बनाउने काम गरे । जहाँ काम गर्‍यो, त्यहीँ खायो । त्यहीँ बस्यो । सामान्य रुपमै चल्दै थियो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण देश लकडान भयो । लकडाउन पनि सुरुमा एक सता त्यसपछि थपिँदै–थपिँदै गयो ।

लकडाउनपछि पनि केही दिनसम्म त ठेकेदारले काम दियो । नजिकैको एउटा किराना पसलमा सामान किनेर खाने व्यवस्था पनि गरिदिएको थियो । पसलले पनि दिनकै सामान दिन्थ्यो, एकै चोटी धेरै दिँदैनथ्यो । ‘ठेकेदारले एक÷एक दिनको मात्रदिनु भनेको छ’ पसलेले सुनाउँथे । 

लकडाउन करिब तीन साता बित्दा पसलमा पनि समान सकियो । बन्द भयो । ठेकेदारले काम पनि काम पनि दिन छाड्यो । लकडाउनको अवधिमा काम गरेबापत पैसा पनि दिएन । लकडाउन महिना दिन नाघ्यो । गोजीका पैसा पनि सकिँदै गए । काम छैन । 

ठेकदारले व्यवस्था गरिदिएको छाप्रो बस्थे तर उनीहरूलाई खानको समस्या भयो । त्यसपछि सिन्धुपाल्चोकमा टिक्न नसक्ने अवस्था आइपर्‍यो । अनि उनीहरूले हिँडेरै भए पनि घर जाने निर्णय गरे । गोरख बहादुर केसीले विएल नेपाली सेवालाई सुनाए, ‘बाटो कसैले दिए खाउँला, नभए पनि चिउरा त छदैँछ भन्ने विचार गरेका हिँड्यौं  ।’

सिन्धुपाल्चोकबाट हिँड्दा उनीहरूले दुई–दुई केजी चिउरा, पाँच–पाँच वटा चाउचाउ , दुई–दुई बोतल पानी बोके– बाटोमा खान । आफ्ना लगाउने कपडा बोके। छ भाइ एकै ठाउँ सुत्न मिल्ने ब्ल्याङकेट पनि बोके र हिँडे । 
‘नखाएर कहाँ हो कहाँ मर्नुभन्दा हिँड्न ठिक लागेर हिँडेका हौं,’ डम्बर नेपालीले लाई भने, ‘अर्काको ठाउँमा मर्नुभन्दा बाटोमा हिँड्दा हिँड्दै मर्नु बेस लाग्यो । त्यसैले हिँडेका हौं ।’

तीन दिनमा काठमाडौं आइपुगेका उनीहरू उत्तिकै फुर्तिला देखिन्थे । विरेन्द्र वटालाले भने, ‘सडकमा आउँदा कतिपय ठाउँमा पानी र खानेकुरा खुवाउने मान्छे भेटिनुभो । उनीहरूलाई देख्दा भगवान उहाँ नै हो जस्तो लाग्यो ।’ 

बालाजुमा भेटिएका बटालाले भने, ‘बाटोमा पानी र खान खुवाए । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा २ ठाउँमा खान पायौंँ ।’ उनीहरूले दिउँसो सडकछेउको रुखमुनि छ जना एकै ठाउँ सुत्ने गरेको र रात भर हिँड्दै काठमाडौं आइपुगेको बताए ।

कोरोना भाइरस लागेर मर्नेभन्दा पनि घरमा बुवाआमा नभेटिकन मरिन्छ कि भन्ने चिन्ताले सताइरहने बटालाले बताए ।

भनिन्छ नि, सुख लुकाए लुक्छ तर दुःख कहाँ लुक्थ्यो र ! छ जनासँग एउटा मात्र मोबाइल छ । त्यही मोबाइलबाट उनीहरूले आठबिसकोट नगरपालिकाका मेयर दिपक बुढाथोकीलाई फोन गरे तर मेयर सापको फोन उठेन । दैनिक १० चोटी फोन गरे तर पनि फोन उठेन । ‘दुःखका बेला जनप्रतिनिधिलाई त हो सम्झने, चुनावमाघर–घरमै सिंहदरबार आयो भनिएको थियो,’  भिमेश्वर थापाले भने, ‘भोट दिने समयमा खोजीखोजी लग्थे हामीलाई, अहिले धिक्कार लागेको छ ।’ 

‘आफूलाई चाहिदा त चुनावमा त्यति गरे, अहिले हामीलाई समस्या पर्दा भने फोनसम्म उठाउँदैनन्,’ थापाले मयेरप्रति आक्रोश पोखे, ‘आइन्दा चुनावामा भोट हाल्न फेरि खोज्लान् नि ! त्यो बेलामा हामीले पनि जानेका छम् ।’

मेयर सापको फोन गरेर विएल नेपाली सेवाले पनि फोन सम्पर्क गर्न खोज्यो तर पनि घन्टी गयो, फोन उठेन । म्यासेज पठाएको, त्यो पनि केहि समय पछि ‘नट रिचेवल’आयो । 

काठमाडौंको बालाजुमा अलपत्र परेका उनीहरूलाई सशस्त्र प्रहरी बलले नेकपाका नेता जनार्दन शर्मालाई सम्पर्क गरेर गाडीको व्यवस्था मिलाइदिने प्रयास गरेको छ ।

प्रकाशित मिति: : 2020-04-21 06:37:00

प्रतिकृया दिनुहोस्