जुम्लाका युवा सुरक्षाकर्मीका लागि सेनिटाइजर बनाउँदै (भिडियाेसहित)

कोरोना भाइरस(कोभिड –१९) को त्रास बढेसँगै माक्स र सेनिटाइजर प्रयोग गर्दा सुरक्षित हुने उपाय चिकित्सकहरुले सुझाएका छन्। यसले  बजारमा माक्स र सेनिटाइजरको माग अत्यधिक बढेको छ भने आपूर्ति कम भइरहेको छ। कतिपय ठाउँमा अत्यावश्यक भए पनि उपलब्ध हुन सकिरहेको छैन। 

यस्तो अवस्थामा जोखिम मोलेर खटिनेलाई सुरक्षित राख्नु अति नै जरुरी रहेको भन्दै जुम्लाका दुई युवा मिलेर ‘ह्यान्ड सेनिटाइजर’ उत्पादन गर्न लागेका छन्। आफूले उत्पादन गरेको सेनिटाइजर भीड नियन्त्रणमा खटिने प्रहरीलाई उपलब्ध गराउने उद्धेश्य पनि रहेको उनीहरुले बताए।

कोहलपुरको शिक्षण अस्पतालमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत विश्वाश महत र कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा बिपिएच दोस्रो वर्षमा अध्ययनरत मनिष रोकायाले मिलेर ह्याण्ड सेनिटाइजर उत्पादन गर्न लागेका हुन।

‘कोरोना संक्रमण बढेसँगै उपचारमा खटिने स्वास्थ्यकर्मी, भीडभाड नियन्त्रण गर्न खटिने प्रहरी र समाचार सम्प्रेषण गर्ने प्रत्रकार बढी जोखिममा छन्। समान्यतया अस्पतालमा ह्याण्ड सेनिटाइजरको उपलब्धता छ,’ बिएल नेपाली सेवासँग कुरा गर्दै मनिषले भने, ‘भीडभाडमा खटिनेहरु असुरक्षित छन्। विशेषगरी प्रहरी र सुरक्षाकर्मीहरु। उनीहरुलाई सुरक्षित बनाउन सके अरु पनि सुरक्षित हुनेछन्।’ 

कोरोना भाइरसको संक्रमण कम गर्न हात सुरक्षित राख्न उपयोगी हुन्छ। अध्ययन अनुुसार एक जना मान्छेले जानेर वा नजानेर दिनमा हजार पटकसम्म मुखमा हात लिन्छ। हातको मुखसँगको सम्पर्कले कोरोना भाइरसको संक्रमण छिटो हुन सक्ने सम्भावना रहन्छ। त्यसैले हात सुरक्षित राख्न ह्याण्ड सेनिटाइजर आवश्यक हुने उनीहरुले बताएका छन्।

जुम्लामा उत्पादन गरेको ह्याण्ड सेनिटाइजर विश्व स्वस्थ्य संगठनको गाइडलाइन अनुसार रहेको उनीहरुको दाबी छ। ‘हामीले डब्लुएचओको मापदन्ड अनुसार रहेर नै सेनिटाइजर बनाएका छौं। इथाइन अल्कोहल, हाइड्रोजन पर अक्साइड र गिलसिरिनको मात्रा मिलाएपछि ह्याण्ड सेनिटाइजर बन्छ,’ उनीहरुले भने।

उनीहरु, चन्दननाथ माध्यामिक विद्यालयको ल्याबका सामग्रीको प्रयोग गरिरहेका छन्। ल्याबमा उपलब्ध सामग्रीबाट नै सेनिटाइजर बनाउन सम्भव भएको उनीहरुले बताए। उनीहरुको योजना सफल बनाउन कलाघरका गोविन्द सुनारले चन्दननाथ स्कुलसँग समन्वय गरे। त्यहाँका प्रधानाध्यापक टंकबहादुर महतले सहयोग गरेका छन्।

‘ल्याबमा सिमित सामग्रीको उवलब्धता छ। यदि सामग्री जुट्ने हो भने ठूलो परिमाणमा सेनिटाइजर उत्पादन गर्न हामी तयार छौं। यसले थोरै भएपनि राहत हुनेछ। अहिले यस्ता कार्यमा लगानी गर्न सक्ने हो भने हाम्रो क्षेत्रलाई सुरक्षित राख्ने अरु धेरै उपाय सोच्न तयार छौं,’ उनीहरुले भने। 

उत्पादन गरेको सेनिटाइजर प्रयोगले कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिने भनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पत्र पनि दिएको छ। उक्त सेनिटाइजर जुम्लाका प्रहरी बिटमा राखिनेछ। यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि अस्पताललाई चाहिने सेनिटाइजर उत्पादन गरेको छ। 

लकडाउनको बेला युवाहरु तास खेल्ने, मोबाइलमा लुडो खेल्ने र समय त्यतिकै व्यतित गर्नुभन्दा उनीहरुको जस्तै रचनात्मक गतिविधिमा लागे समाज गतिशील हुने थियो। 

 

प्रकाशित मिति: : 2020-04-21 07:35:00

प्रतिकृया दिनुहोस्