नयाँबजारस्थित एउटा रेस्टुरेन्ट बन्द भएपछि त्यहाँ काम गर्ने दोलखाका सन्तोष थापा मगरको मनमा छटपटी सुरु भयो।काठमाडाैंमा उनी एक्लै थिएनन्। उनकी श्रीमती पनि सँगै थिइन। कोरोना भाइरस संक्रमणकै कारण बजार बन्द भएपछि शहर बन्द हुने नै भयो।
केहि समयअघि बिहे गरेर गाउँबाट आएको यो जोडीले देखेको सपनामा त्यति बेला ठेस लाग्याे, जब काेराेनाकाे त्रासका कारण शहरका सबै रेष्टुरेन्ट पूर्णरुपमा बन्द भए। यो दृश्य देखेर उनी मात्रै नभएर राजधानीमा काम गरिखाने सबै जसो मानिसमा भय पैदा भयाे।
अब के होला! के खाने हाेला? कहाँ बस्ने लगायत थुप्रै अनुत्तरित प्रश्नले उनकाे मनमा डेरा जमायो। काम त छुट्यो नै, खान पनि मुस्किल हुने देखेपछि भोकभोकै मर्नुभन्दा पैदलै गाउँ जाने योजना बनाए। उनी लगायत उनकाे बूढी हजुरआमासहित ११ जना गाउँले सल्लाह गरेरे पैदलै गाउँ फर्किने निधोमा पुगे।
उनी नयाँबजारकाे डेरामा बचेकुचेको खाना खाएर पिठ्युमा झोला बोकी साथीहरुसँगै मध्यान्न गाउँको लागि निस्किएका थिए। टाउको दुख्ने घाममा गत शुक्रबार हस्याङफस्याङ गर्दै बानेश्वर आइपुग्दा उनलाई नेपाल प्रहरीका सुरक्षाकर्मी ‘लकडाउन‘को नियम पालना गराउदै थिए। जथाभाबी सडकमा निस्केकाे भन्दै केहीलाई अगाडी नै समातेर ३ घन्टाको लागि ‘होल्ड’मा राखिएकाे थियाे।
सन्तोषसहितको त्याे टिम थाकेर बानेश्वर आइपुग्दा पुलिसको पन्जाबाट उम्किन सकेन। उनी लगायतकाे टिमलाई प्रहरीले नयाँ बानेश्वर चोकमा सोधपुछ गर्दै सम्झाउँदै थियो। गाउँ जान हिँडेको उनको समुहलाई प्रहरीले सरकारको आदेशानुसार ३ घण्टा ‘होल्ड’ गर्यो।
उनी भन्दै थिए– ‘नयाँबजारबाट बुढी आमालाई डाेर्याउँदै यहाँसम्म आइपुग्न अढाई घन्टा लाग्याे। अब बानेश्वरबाट अझै साँगासम्म पुग्न कति घण्टा हिड्नु पर्ला?’
उनी रेष्टुरेन्ट बन्द भएपछि बेराेजगार भएकाे र खान पनि धाैधाै भएका कारण बरु गाउँमै बारीमा केही उमारेर छाक टार्ने उद्धेश्यसहित राजधानी छाेडेर हिडेकाे बताइरहेका थिए। ‘ बजार बन्द भएपछि म मात्र हाेइन, अधिकांश दैनिक ज्यालादारी गरि परिवारको पेट पाल्ने श्रमिक पैदलै एक साता हिँडेर घर फर्किदैछन्,’ उनले भने।
केही वर्षअघि पैसा कमाउने सपना बाेकेर उनी राजधानी छिरेका थिए। उनलाई अझै केहि समय काम गरेर पैसा कमाउने धाेकाे थियाे। तर महामारीले उनी जस्ता थुप्रैकाे सपना यति बेला चकनाचुर पारेकाे छ। दुई–चार दिनमै खुल्छ भन्ने सुनेर उनी काठमाडाैंमा ‘लकडाउन’ प्रति बेपरवाह भएर बसेका थिए।
‘लकडाउन खुलेन हजुर। अहिले त झन् झन् थपिदै लगेपछि समस्या पर्न थाल्यो,’ उनले भने। उनकाे वास्तविक घर दोलखा हाे। ‘अहिले हामी उभिएको २ घण्टा भइसक्यो। अझै कति रोक्छन् थाहा छैन। पुलिसले चाँडो छोडिदियो भने आज जसरी पनि साँगासम्म पुगिन्छ हाेला। त्यहाँबाट घर जान गाडीको लागि कुरा गरेका छाैं।’
उनले याे बताइरहँदा साँझकाे पाँच बजिसकेको थियाे। उनी अतालिरहेका थिए, राती कति बजे पुग्ने अनि दाेलखाकाे गाडी पाउँछ कि पाउँदैन भनेर। उनले सरकारले दिने भनेकाे राहत लिएका रहेछन्। तर, ५ केजी चामल मात्र।
‘जहान नै ६–७ जनाको छ। कसरी पुर्याउने?’ यही भएर त समस्या भयाे। साँगाबाट गाडी पाएकाे खण्डमा भाेली दोलखा पुग्ने उनकाे भनाई थियाे। ‘तर छाटकाट हेर्दा भोली दोलखा पुगिएला जस्तो लाग्दैन्,’ बूढी आमातर्फ हेर्दै उनले भने–‘आमा त बिरामी पर्ने डर छ।’
‘लकडाउन’ को समयमा बानेश्वर वृतका डिएसपी दुर्गाराज रेग्मीसहितको टाेली जथाभाबी घर बाहिर ननिस्किन सबैलाई सम्झाइरहेका थिए। तर, काठमाडाैं छाेड्ने रहर कसलाई थियाे र! उनी दोलखा हिँडेको समुहलाई मात्रै नभएर अन्य मान्छेलाई पनि सम्झाउँदै गरेको देखिन्थे।
डिएसपी रेग्मी भनिरहेका थिए–‘ कतिपय मानिस सडकमा खुल्लम खुल्ला हिँडेर मुभमेन्ट गरिरहेका छन्। कोरोनाको भयाबहस्थिति देखिदैछ। घरबाट बाहिर ननिस्किन सम्झाउँछौ तर पनि कतिपय मानिस हावा खाने र तरकारी किन्ने निहुँमा बाहिर सडकमा निस्किन्छन्।’
उनले तरकारी किन्ने बहानामा अलिकति मुभमेन्ट गरेको देखिए पनि सम्झाएर फर्काउने गरेकाे बताउँछन्। ‘कतिपय मानिस बिनाकाम सडकमा हिँड्छन्। सम्झाउँदा फर्किएर पनि जान्छन्। महामारीको प्रकोप भएको बेला घरभित्र बस्नुको बिकल्प छैन।’ उनले सडकमा निस्किने मानिस रिसाउने र झर्किने गरे मात्र ३ घण्टा ‘होल्ड’ मा राख्ने गरेकाे बताए।
दोलखा हिँडेको समुह किन राेकेर राखेकाे भनि प्रश्न गर्दा उनले भने, ‘सरकारले लकडाउनको पालना गर्न लगाउने अथवा जो जहाँ छन्, उनीहरुलाई त्यही बसाउन आदेश गरेकाे छ। सरकारकाे आदेशकाे पालना हामीले गर्नेपर्छ। यसरी भीडमा हिँडदा काेही संक्रमित भइहाल्यो भने त्यसको दोषी उ आफै मात्र नभएर सिंगो समाजले त्यसको दुष्परिणाम भोग्नु पर्छ।’
कोरोनाकाे महामारीले विश्वव्यापी रुपमा लाखाैंं मानिसकाे ज्यान गइसकेकाे छ।
डिएसपी रेग्मी जनताकै सुरक्षाका लागि मुभमेन्ट गर्न नदिएको बताउँछन्। उनकाे तर्क आफ्नाे ठाउँमा जायज छ। तर, दाेलखाका यी निमुखा मजदुर रहरले हाेइन, बाध्यताले घर फर्किदैछने भन्ने कुरा पनि उत्तिकै सत्य थियाे।