चीनको वुहानबाट विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ ले विश्वभर महामारीको रूप लिएको छ। सम्भावित महामारीलाई रोक्न नेपाल सरकारले गत चैत ११ गतेदेखि मुलुक लकडाउन गरेको छ।
लकडाउन गरेर सबैलाई घरमै रहन आग्रह गरेसँगै सबैको दैनिकी परवर्तन भएको छ। यसको प्रत्यक्ष मारमा दैनिक मजदुरी गरेर खाने मजदुर परेका छन्।
जसलाई दैनिक छाक टार्नसमेत हम्मेहम्मे परेको छ। काम गरिरहेको मजदुरहरू काम नपाएसँगै भोक भोकै बस्न बाध्य छन्। अधिकांश मजदुर बाटो बाटोमा भौतारिएर हिँड्न बाध्य छन्।
यसैबीच भोका मजदुरका लागि जोरपाटीमा त्यहिका केही युवा मिलेर नि: शुल्क खाना वितरण गर्दै आएका छन्।
विगत १५ दिनदेखि मजदुर र बाटोमा भौतारिएकालाई २९ वर्षीय विजु शाहीले निःशुल्क खाना खुवाउँदै आइरहेका छन्।
खाना खान नपाउनेका लागि पेटभरि खाना खुवाउने उद्धेश्यले नि:शुल्क खाना वितरण गरेको उनले बिएल नेपाली सेवासँगको कुराकानीमा भने।
गरिब दिन दुःखिका लागि खाना खुवाउने उनको निर्णयलाई केही साथीलेसमेत साथ दिएका छन्।
'मेरो निर्णयलाई सन्जे परियार, पर्ल बज्राचार्य, निरन्जन नेपाल, सोनु शाह र पासाङ शेर्पाले साथ दिएका छन्। उनीहरू नभएको भए खाना खुवाउने कुरा सम्भव हुँदैन थियो,' उनले भने।
साथीसँग मिलेर खाना नपाउनेका लागि पेटभरी खाना खुवाउने भन्दै नि: शुल्क खाना वितरण गरेको उनले जानकारी दिए। लकडाउन अगाडि मागेर खानेहरूका लागि यतिबेला झन समस्या परेको भन्दै उनले लकडाउन भएपछि माग्नसमेत सम्भव नभएकाले कयैं व्यक्ति भोकभोकै हिँड्नुपरेको बताए।
मागेर खानेहरुले लकडाउनपछि माग्न नपाएर फोहोरमा खाना खोजेर खाएको देखेको बताउदैं उनले भने, 'त्यहि दृश्य देखेर नि:शुल्क खाना खुवाउने सोच बनायौं।'
सुरूको ४/५ दिन आफ्नै गोजीबाट खाना खुवाएका उनलाई पाँच दिनपछि स्थानीयलेसमेत सहयोग गरेका छन्। ‘हामीले खुवाएको देखेर स्थानीयले पनि सहयोग गर्न थाल्नुभयो’, उनले भने, ‘उहाँहरूले पैसा नभए पनि चामल, दालहरु सहयोग गर्नुभएको छ।'
यदि कसैले सहयोग गर्न रूचाए खाद्यान्न मात्र गर्न मिल्ने उनले जानकारी दिए। ‘हामीले कसैबाट पैसा लिएका छैनौं। लिए पनि त्यस पैसाले किनेको सामानको लिस्ट नै बनाएका छौं,' उनले भने।
यद्यपी आफूहरूले अहिलेसम्म सहयोग गर्न कसैलाई पनि आग्रह नगरेको उनले बताए। आफूहरूले गरेको काम देखेर अरू ठाउँका स्थानीय युवाले पनि यस्तै काम सुरू गरेको उनको भनाइ छ।
बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म २० जना कर्मचारी खाना बनाउनका साथै खाना बाड्नमा व्यस्त रहने उनले बताए।
बिहानको खाना १०:३० बजेदेखि १२ बजेसम्म र बेलुकाको खाना ५:३० बजेदेखि ८ बजेसम्म खुवाउने गरेको उनी बताउँछन्।
‘कोही पनि भोको पेट नसुतोस् भन्ने चाहनाका साथ खाना खुवाइरहेका हौ। यस्तो गर्नमा कुनै झन्झट छैन्,' उनले भने, 'लकडाउन नसकिएसम्म यसरी नै खाना खुवाउने गर्छौं।'
दिनमा ८ सय जति मजदुरलाई निःशुल्क खाना खुवाउने गरेको उनले सुनाए। ‘८ सय जनालाई खाना खुवाउँदा २० हजार जति खर्च हुने गरेको छ' उनले भने।
आफूले यसरी असहायका लागि खाना खुवाउन पाउँदा खुसी लाग्ने उनले बताए। 'खान मुश्किल परेकाहरुलाई खान खुवाउँदा सन्तुष्ट भएका छौं,’ उनले भने, 'दाल भात तरकारी दिने क्रममा वरिपरि स्यानीटाइजर छर्केर र साबुन पानीले हात धुवाएर मात्रै दिने गरेका छौं। हप्ताको दुई दिन भने अण्डा पनि दिने गरेका छौं। स्वाद फेर्नका लागि।'
आफूले दिने गरेको खाना स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको भन्दै उनले भने, 'मान्छेको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो खाना वितरण गरेका हौं।'
आफूहरूले बाँडेको खानामा कुनै हानी वा नोक्सानी नहुने उनको दाबी छ।
विजुलगायत उनका साथीहरुले निःशुल्क बाँडेको खाना मिठो र सन्तुष्ट भएको ४/५ दिनदेखि खाना खादै आएका ५८ वर्षीय मजदुर अनन्त राज पहाडीयाले बताए।
‘सरकारले गर्न नसकेको काम युवाहरूले गरेका छन्। एकदम राम्रो छ, खानामा कुनै शिकायत छैन,' उनले भने।
आफूले पशुपतिमा बाँडेको खाना पनि खाएको भन्दै उनले यहाँ जस्तो मिठो र राम्रो खाना त्यहाँ नभएको बताए।
यस्ता परोपकारी व्यक्ति भएसँगै अहिले आफूलाई छाक टार्न कुनै समस्या नभएको उनले बताए।
त्यस्तै विगत दुई दिनदेखि खाना खाँदै आइरहेका अर्का मजदुर विनोद खड्काले खाना एकदमै मिठो भएको प्रतिक्रिया दिए। 'खाना त मिठै छ। तर खानासँगै कसैले बास पनि दिए झन राम्रो हुन्थ्यो’, उनले भने।
खाना दिए अनुसार नै बस्न पनि दिँदा आफू जस्तै घरबारबिहिनलाई खुसिको कुरा हुने भन्दै उनले भने, ‘सबै मजदुरको झोलामा हेर्दा सुकुल भेटिन्छ। त्यसैले खाना सँगै बस्नको लागि सुविधा भए हामी मजदुरका लागि राम्रो हुन्थ्यो कि।’
खानामा कुनै गुनासो नभएता पनि बस्नको लागि पनि यी युवा जस्तै कसैले सहयोग गरे राम्रो हुने उनको भनाई छ।