बेँसीशहर नगरपालिका– ७ सहजीमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनबाट भागेका एक युवकको प्रहरीले खोजी गरिरहेको छ।
सरकारले कोभिड-१९ को जोखिम रोक्नका लागि गरेको लकडाउनका बेला चितवनबाट लमजुङ आइपुगेका पूर्णबहादुर मिजारलाई आइतबार उक्त क्वारेन्टाइनमा राखिए पनि त्यहाँबाट सोही दिन भागेपछि नगर प्रहरीले खोजी गरेको नगर प्रमुख गुमानसिंह अर्यालले जानकारी दिए।
'घरमा आमा र बहिनी बिरामी हुनुहुन्छ भन्दै क्वारेन्टाइनबाट सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गरेको हो' उनले भने, 'घरमै प्रहरी पुग्दा त्यहाँबाट पनि जंगल भागेपछि हालसम्म भेटिएको छैन्।'
नौ जना रहेका उक्त क्वारेन्टाइनमा सशस्त्र र नेपाल प्रहरीका दुईदुई प्रहरी सुरक्षामा खटिएका छन्। उनीहरुको आँखा छलेर ती युवक फरार भएका हुन्। उनकी आमा र बहिनीको हात भाँचिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताए।
'मिजार क्वारेन्टाइनबाट भागेपछि घर पुगेर लुगा फेरी फरार भएका थिए' उनले भने, 'घरको परिवारले कपडा छोएकाले तीसमेत क्वारेन्टाइनमा बस्नका लागि तयार रहेका छन्।'