अमेरिकामा मृत्यु हुनेकाे संख्या बढ्दै, इटाली, स्पेन र फ्रान्स सुधारको दिशामा

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यसैगरी २४ लाख ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। विश्वभर ६ लाख २४ हजार व्यक्ति उपचारपछि निको भएर घर पनि फर्किएका छन्।

सबैभन्दा बढी अमेरिकामा ४० हजार ५ सयभन्दा बढीको मृत्यु हुँदा ७ लाख ६४ हजार संक्रमित बनेका छन्।

दोस्रो स्थानमा रहेको इटाली रहे छ। इटालीमा आइतबार पछिल्लो एक हप्ता यताकै सबैभन्दा कम व्यक्तिको ज्यान गएको छ।आइतबार कोभिड–१९ बाट ४३३ जनाको ज्यान गएको हो।

आइतबार तीन हजार ४७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन इटालीमा ३४ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो। इटालीमा हालसम्म २३ हजार ६६० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ७८ हजार ९७२ रहेको छ।

यस्तै स्पेनमा पनि आइतबार एक महिना यताकै सबैभन्दा कम व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ। आइतबार स्पेनमा ४१० जनाको ज्यान गएको हो।

आइतबार नयाँ संक्रमितको संख्या पनि मात्रै ४२ सय १८ रहेको जनाइएको छ। स्पेनमा हालसम्म २० हजार ४५३ जनाको ज्यान गएको छ। यस्तै संक्रमितको संख्या एक लाख ९८ हजार ६७४ रहेको छ।

फ्रान्समा अस्पताल भर्ना गर्नु पर्ने बिरामी निरन्तर पाँचौँ दिन घटेका छन्। आइतबार अस्पतालमा २२७ तथा नर्सिङ्ग होममा १६८ जनाको मृत्यु भएको छ। योसँगै फ्रान्समा अहिलेसम्म १९ हजार ७४४ जनाको ज्यान गएको छ।

संक्रमितको संख्या एक लाख ५४ हजार ९७ पुगेको छ। आइतबार कोरोना भाइरसको संक्रमण भएका कुल ३० हजार ६१० बिरामी फ्रान्समा अस्पतालमा रहे। यो अघिल्लो दिनको तुलनामा २९ कम हो।

प्रकाशित मिति: : 2020-04-20 07:19:08

प्रतिकृया दिनुहोस्